काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

६ बर्ष अगाडि

काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र  गर्ने काम तीव्र पारिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए।

उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आउनुभएको छ । यसक्रममा शनिबार मन्त्री नेम्वाङले कलङ्की–नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र  सवारी आवत जावतलई सुचारु बनाइराख्न निर्देशन दिए। 

काठमाडौँ क्षेत्र नं ९ का  सांसद कृष्णगोपाल श्रेष्ठ र  प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया लगायत सहभागी थिए ।
चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल, माइतीघर–तीनकुनेलगायतका सडक खण्डमा मन्त्री नेम्वाङले अनुगमन गरेका थिए।

नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । 
    

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विगतका वर्षभन्दा चालू आवमा सडक मर्मतमा बढी  बजेट बिनियोजन भएको जानकारी दिए ।  सडक बोर्डले चालू आवमा झण्डै ७० प्रतिशत राष्ट्रिय राजमार्गको मर्मत तथा  ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने जनाएको छ ।

सरकारले सडक बोर्ड नेपाललाई गत आवमा भन्दा झण्डै रु तीन अर्ब बढी बजेट सडक मर्मतका लागि विनियोजन गरेको छ ।

उनले भने, “गत वर्षमा काठमाडौँ उपत्यकाका सडक मर्मतमा कम बजेट छुट्याउने गरिएकामा चालू आवमा उपत्यकाका लागि बढी विनियोजन भएको छ ।”

६ बर्ष अगाडि

प्रतिक्रिया