भनिन्छ - कर्मचारी प्रशासन स्थायी सरकार हो । नेपालमा राजनीतिक नेतृत्व परिवर्तनशिल र मन्त्रीहरू सम्बन्धित विषयमा कम अध्ययन भएका नेपालजस्तो मुलुकमा सुशासनका लागि प्रशासकको महत्वपूर्ण भूमिका हुन्छ ।
तर नेपाल सरकारका एकजना सचिव जहाँपुग्यो त्यहीँ अनियमितता र कुशासनको मात्र आरोप लाग्ने गरेको छ ।
ठाकुर अहिले नेपाल ट्रष्टका सचिव रहँदा ठूलाे नीतिगत भ्रष्ट्राचारकाे विषयले चर्चा पाइरहँदा उनी सिँचाइ मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, खानेपानी मन्त्रालयमा हुँदा पनि कुशासन भएकाे गम्भिर आरोप लागेकाे थियाे ।
यति होल्डिङ्सलाई नेपाल ट्रष्टकाे नाममा रहेकाे गोकर्णको सरकारी जग्गा लिजमा दिने विषयमा प्रकृया पुरयाएर नीतिगत भ्रष्टाचार गर्न उनले नै अगुवाई गरेकाे चर्चा छ ।
हतार हतारमा ऐन संसोधन गर्ने, संचालक समिति आफूखुसी फेर्ने र बोर्डमा सरकार पक्षलाई अल्पमतमा पार्ने, कुनै योगदान नै नभएका बाहिरिया संचालकहरूको हालिमुहाली हुने र उनीहरुकै निर्णयमा गोकर्णको जग्गा कम्पनीलाई दिने विषयमा उनले राम्रो चाँजोपाँजो मिलाएको जानकारहरु बताउँछन् ।
‘ट्रष्टका सचिव ठाकुरले सहज वातावरण बनाएकै कारण ६ वर्ष अघि सम्झौता भयो, नत्र यतिचाँडै सम्झौता गर्न जरुरी नै थिएन, ऐन संसोधन गर्न पनि जरूरी थिएन,’ एक उच्च अधिकारी भन्छन् ‘त्यो पक्षलाई ठाकुरको बदनियतपूर्ण साथ र सहयोग छ, नत्र उनले बिराेध गर्थे ।’
यसअघि ठाकुर खानेपानी मन्त्रालयको सचिव हुँदा मेलम्ची खानेपानी आयोजनाका इटालियन ठेकेदारसँग कमिसन मागेर भाग्न बाध्य पारेको आरोप लागेको थियो । ठेकेदार कम्पनी सीएमसीले अतिरिक्त लागत र थप समयअवधिको लागि ३६ करोड सीएमसीलाई दिनुपर्ने निर्णय गरेर कमिसन मागेको मन्त्री विना मगरले बताएकी थिएन ।
ठेकेदारलाई ३६ करोड दिनुपर्ने निर्णय पनि सचिव ठाकुर अध्यक्ष रहेको खानेपानी बोर्डले गरेको थियो ।
त्यही कारण सिएमसीले काम छाडेर गएपछि मन्त्री मगरकै अग्रसरतामा आफ्नो स्वकीय सचिवसहितको टोली वार्ताका लागि सिंगापुर पठाए पनि सचिव ठाकुर भने सिएमसीलाई नफर्काउने र नयाँ टेण्डर गरेर मेलम्ची अघि बढाउने भनेपछि मन्त्री मगरले सचिव गजेन्द्र ठाकुरलाई हटाएकी थिइन् ।
मन्त्रीले मात्र होइन सहसचिव राजनराज पाण्डेले समेत मन्त्री र सचिव ‘चरम घुस्याहा’ रहेकोले आफूलाई ६ महिनादेखि जिम्मेवारीविहीन बनाइएको आरोप लगाएका थिए । उनले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको लेखेका थिए ।
उनी सिँचाइ मन्त्रालयमा हुँदा घुस लिएर कर्मचारी सरुवा गरेको भन्दै कर्मचारीहरुले आन्दोलन नै गरेका थिए । महेन्द्र यादव खानेपनी मन्त्री भएको बेला उनी त्यहाँ गएका थिए ।
सिँचाइबाट हटाएर राष्ट्रिय सतर्कता केन्द्रमा पुरयाउँदा पनि उनले सिँचाइ मन्त्रालयका फाइल मगाएर हैरान पारेकाे कर्मचारीहरू बताउँछन् ।
सचिव ठाकुर केही समय पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा छानविनमा समेत परेका व्यक्ति हुन् ।
एकजना पूर्व सचिव भिम उपाध्यायले त सार्वजनिक रुपमै ठाकुर जहाँ गयो त्यहीँ लफडा भएको कुरा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सचिव गजेन्द्र ठाकुर जहॉ पुगे पनि लफडामा फस्न पुग्दा रहेछन्। उनी सिचाई मन्त्रालयको सचिव रहदा पनि त्यहॉ केही भएको थियो, सिचाई पछि खानेपानी मन्त्रालयमा पुग्दा पनि त्यस्तो रडाको भयो, खानेपानी पछि नेपाल ट्रष्टमा पनि फेरि केके झन नौलो लफडा हुन पुगेछ। लफडाले पनि कति पिछा गरिरहेको होला कसै कसैलाई त, विचरा’
गलत नियतले काम गर्न खोज्नेहरुलाई नीतिगत भ्रष्टाचार गर्न बाटो देखाउने र त्यसका लागि सबै परिपञ्च मिलाउने कार्यमा ठाकुर अगाडि रहेको उनका सहकर्मीहरु बताउँछन् ।
प्रतिक्रिया