विसं २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।
“हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए ।” प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, “चर्दाचर्दै हात्ती बस्यो, हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा निधन भयो ।
” रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो । “बिरामी नभए पनि बूढेसकाल लागेकै कारण मृत्यु भएको हो”, उनले भने, “विधिप्रक्रिया अनुसार शुक्रबार अन्त्येष्टि गरियो ।”
हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने गर्छ । रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि सात वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताए ।
प्रतिक्रिया