कास्की निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा–५ बगैँचास्थित ज्येष्ठ नागरिक क्लब दिवा सेवा केन्द्रलाई युरोगार्ड र टेलिभिजन प्रदान गरेका छन।
ज्येष्ठ नागरिकलाई शुद्ध पिउने पानीका साथै मनोरञ्जनका लागि उपलब्ध गराउनुभएको रु ४६ हजार मूल्य बराबरका उक्त सामग्री एक कार्यक्रमका बीच पहारीले केन्द्रका अध्यक्ष विश्वनाथ पराजुलीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा उनले प्रदेशसभाबाट प्राप्त सेवा–सुविधा जनताप्रति समर्पित गर्ने अभियानअन्तर्गत हालसम्म निर्वाचन क्षेत्रका ४३ सामुदायिक विद्यालयलाई रु १२ लाख मूल्य बराबरका ५० थान युरोगार्ड प्रदान गरिसकेको जानकारी दिए ।
जसले भगवान् सरहका आमा–बुबालाई श्रद्धा गर्न सक्दैन, त्यस्ता सन्तान बाँच्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सेवाले समाजलाई सतमार्गमा लैजान सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पोखरेलीको अपेक्षा योगदानको कारण रत्न मन्दिर र हिमागृहलाई निकट भविष्यमा खुला हुने विश्वास व्यक्त गर्दै उनले फेवातालको संरक्षणअन्तर्गत तालको शिरका विभिन्न चार स्थानमा सिल्टेसन बाँध र पोखरा निर्माण भइरहेको बताए ।
रत्नमन्दिर परिसरमा उद्यान निर्माणका लागि रु २५ लाख विनियोजन गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य पहारीले बितेको दुई वर्षमा कानून निर्माण वर्ष भएको र बाँकी तीन वर्षको अवधिमा विकास निर्माणसँगै सामाजिक न्यायका काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नियमित प्रवचन, भजनकीर्तनलगायतका विभिन्न मनोरञ्जनका कार्यक्रम हुने सो क्लबमा दैनिक १०० भन्दा बढी ज्येष्ठ नागरिक सहभागी हुने गरेको केन्द्रका अध्यक्ष विश्वनाथ तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा वडासदस्य उज्वल खत्री, ज्येष्ठ नागरिक क्लबका सचिव दुर्गाबहादुर सुनारलगायतले सेवा केन्द्र आवश्यकतानुसार अन्य वडामा पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिक्रिया