काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गरेर ल्याएको दोस्रो बाइड बडी जहाज उडाने अनुमति दिन ढिलाई भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिन ढिलाई गरेका कारण मकालु नाम दिइएएको दोस्रो बाइड बडी जहाज उडान र आवश्यक प्राविधिक तयारी गर्न समेत थप समय लाग्ने देखिएको छ ।
निगमका एक अधिकारीकाअनुसार सबै कागजात प्राधिकरणलाई बुझाइएको छ। तर किन अनुमति दिन ढिलाई भएको हो, सो बारेमा केही जानकारी पाउन सकिएको छैन । यही सायन १० गते काठमाडौँ आइपुगेको सो जहाजको अनमुति तीन सातामा पाइने र त्यसका लागि आवश्यक सबै प्रक्रिया सुरु भएको निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले सोही दिन नै बताएका थिए । तर प्राधिकरणले जहाज आएको १५ दिन भइसक्दा समेत आवश्यक प्रक्रिया नै सुरु गरेको छैन ।
अनुमति दिन प्राधिकरण हिच्कीचाइरहेको छ, खै किन हो , हामीले केही बुझ्न सकेका छैनौ । त्यसो त उडान अनुमति मात्रै नभई जहाजको थप कागजात मागेर समेत हैरान गरिरहेको निगमको भनाइ छ ।
सरकारी निकायबीच नै समन्वयन नभए जसरी सरकारको अर्को निकायले दुःख दिने नियत राखेको निगमका ती अधिकारीले जानकारी दिए । आक्रामक रुपमा बजार विस्तार गर्ने र वायु सेवा उद्योगमा फरक पहिचान बनाउने लक्ष्यका साथ खरिद गरिएको वाइड बडी जहाजलाई सहज रुपमा नै अनुमति दिइनुपर्नेमा प्राधिकरणले मतलब नराखेको र विदेशी विमान कम्पनीलाई भन्दा बढी हेला गरेको निगमको दावी छ ।
तीन साता भित्र उडान अनुमति (एओसी) लिएर पूरानै गन्तव्यमा जहाज उडाउने र क्रमशः गन्तव्य विस्तार गर्दै जाने योजनामा प्राधिकरण रहेको छ । प्राधिकरणले भने निगमलाई उपलब्ध गराउन भनिएको कुनै पनि कागजात आफूलाई नदिएका कारण अनुमतिपत्र दिन केही समय लागेको दावी गरेको छ ।
सबै कागजात त हेर्नु पर्यो नी, त्यत्तिकै कागत नै नहेरी अनमुति दिने भन्ने हुँदैन, अनुमति दिने महाशाखाका एक अधिकृतले भने केही थप कागजात मागेका छौ, हेरौ निगमले कहिले उपलब्ध गराउँछ सोही आधारमा निर्णय हुन्छ ।
महाप्रबन्धक कसांकारले तीन साता भित्र कुन आधारमा कसरी अनुमतिपत्र लिइन्छ भन्न्ुभयो, त्यो उहाँले नै जान्ने कुरा भएको भन्दै प्राधिकरणले सबै प्रक्रिया पूरा गरेर आएको खण्डमा मात्रै अनुमति दिन सकिने स्पष्ट पारेको छ ।
त्यसो त निगमका जहाज उडाउने पाइलटको समेत अभाव देखिएको छ । केही दिन पहिले प्राविधिक कर्मचारी र इन्निियर बिना नै जहाज उडाएको भन्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले निगमको जहाजलाई आठ घण्टा राखिदिएको थियो । चालक, प्राविधिक कर्मचारी र इन्जिनियरको समेत चरम अभाव देखिएको छ । प्राधिकरणले सो विषयमा समेत निगमलाई ध्यानाकर्षण गराएको छ ।
वाइडबडी जहाजमा चालक दलका सदस्यसहित चार जना इन्निियर अनिवार्य रुपमा रहनु पर्दछ । त्यसो नहुँदा समेत कम्तीमा दुई जना इन्जिनियर त अनिवार्य नै रहनु पर्दछ । सो विषयमा आवश्यक व्यवस्थापन गर्न निगम चुकेको भन्दै आलोचना भएको छ ।
निगमले भने कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यस्तो नहुने वचन दिएको विमानस्थल प्रशासनले जनाएको छ । ठूलो जहाज भएकाले सामान्य प्राविधिक समस्या तथा कुनै पनि गुनासो आउन नदिन निगम सचेत हुनै पर्ने भन्दै प्राधिकरणको सेफ्टी इकाईले ध्यानकर्षण गराएको छ ।
निगमका महाप्रबन्धक कसांकारले सो विषयमा आवश्यक छानबिन गर्न निगमका सम्वद्ध निकायलाई आवश्यक निर्देशन दिइसकेको बताइएका छन् । उता निगमले दोस्रो वाइड बडी जहाज कुन गन्तव्यबाट उडान सुरु गर्ने भन्ने विषयमा व्यवसायिक कार्ययोजना समेत हालसम्म बनाउन सकेको छैन । जसका कारण पनि अनुमति लिनमा केही ढिलाई हुन पुगेको हो ।
कुन रुटमा कसरी र कुन समय उडाउने भन्ने विषयमा स्पष्ट कार्ययोजना र व्यवसायिक लक्ष्य समेत तय गर्नु पर्दछ । हालसम्म ती कुनै पनि कार्यायोजना तयार हुन सकेको छैन ।
प्रतिक्रिया