संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सातदिनभित्र रमाना दिन राज्यका सबै अंगलाई आग्रह गरेको छ ।
मन्त्रालयले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मन्त्रालय, केन्द्र, सचिवालय, आयोग एवं प्राधिकरणलाई बिहीबार पत्राचार गर्दै समायोजन भएको निकायमा कर्मचारीलाई हाजिर हुन पठाउन आग्रह गरेको हो ।
गत भदौ २१ गते कर्मचारीहरुलाई २१ दिनभित्र रमाना दिई हाजिर हुन पठाउन भनेपनि हालसम्म पनि समायोजन भएको तहमा हाजिर हुन नगएको भन्ने गुनासो आएकोले पुनः पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।
सबै कर्मचारीलाई ‘कर्मचारी समायोजन ऐन २०७५’ बमोजिम ७ दिन भित्र रमाना दिई हाजिर हुन पठाउन र त्यसको जानकारीमन्त्रालयमा दिन सामान्यले आग्रह गरेको छ ।
कर्मचारी गए नगएको विषयमा मन्त्रालयबाट अनुगमन गर्दा रमाना नदिने र हाजिर हुन नगएको फेला परेमा कारबाही अगाडि बढाउने मन्त्रालयले चेतावनी दिएको छ ।
बिहीबार नै सो मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरु र सबै स्थानीय तहलाई पनि छुट्टै पत्राचार गरी रमाना दिन आग्रह गर्दै पत्र पठाएको छ ।
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु मध्ये धेरैजसो समायोजन भएको कार्यालयमा हाजिर हुन गएपनि केही पहुँचवालाहरु शक्तिकेन्द्रको डर देखाउँदै हाजिर हुन गएका छैनन् ।
प्रतिक्रिया