गुल्ल्मीको मुसिकोट नगरपालिको एउटै गाउँमा किसानले पालेका करिब १४ लाख बराबरका कुखुरा मरेका छन् ।
वडा नं ८ को मैदान गाउँमा व्यवसायी गणेश कँडेलले पालेका ब्रोइलर कुखुरामा १२ लाख र स्थानीयको घरमा रहेका लोकल कुखुरा मर्दा २ लाख बराबरकाे क्षती भएकाे हाे ।
आफूले व्यवसायीक रुपमा पालेका ४४ क्विण्टल ‘ब्रोइलर’ कुखुरा मरेको कुखुरा व्यवसायी कँडेलले बताए ।
आफ्नो फर्ममा रानिखेत रोगका कारण र किसनकाे कुखुरामा सीडीआर र इकोलाइ रोग लागेको कँडेलकाे भनाइ छ ।
कँडेलले १२ वर्ष कतार र ४ वर्ष कोरीया बसेर फर्केपछि गाउँमै कुखुरापालन व्यवसाय गरेका थिए ।
केही समयपहिला कँडेलकाे फर्मका ब्राेइलर कुखुरा मरेका थिए भने त्यसको केही समयपछि अहिले फेरी गाउँभरी लोकल कुखुरा मर्न थालेका छन् ।
स्थानीय समाजसेवी गोविन्द विकका अनुसार गाउँमा कुखुरा झोक्र्याउने, पातलो दिशा गर्ने र मर्ने गर्दा करिब २ लाख बराबरकाे क्षती भएकाे छ ।
‘एउटै घरमा २०/२५ गोटाका दरले १०/१२ दिनको अन्तरालमा एक हजार जति कुखुरा मरेको छन्’, उनले भने 'ब्रोइलर कुखुरा तीन किलो बराबर लोकल कुखुरा एककिलो हुने भएकोले किसानकाे पनि धेरै क्षती भएकाे छ ।'
व्यवसायीक कुखुरा पालनका लागि उनले तालिम समेत लिएकोले सामान्य रोग र औषधीको बारेमा ज्ञान लिएको भएपनि पशुसेवा केन्द्रमा भ्याक्सिन उपलब्ध नभएका कारण क्षती व्यहोर्नुपरेको कँडेलकाे भनाई छ।
‘गाउँमा पनि कुखुरा मरेको थाहा पाएपछि म गाउँभरी डुलेर पत्ता लगाएँ लोकल कुखुरामा सीडीआर र इकोलाइ रोग लागेको हो, चाँडै औषधी व्यवस्था गर्ने हो भने ठूलो क्षती हुनबाट जोगिन्छ’ उनले भने ‘तर नगरपालिकाबाट अहिलेसम्म कोही हेर्न पनि आउनुभएको छैन ।’
उनले नगरपालिकाले स्थानीय पशुसेवा केन्दमा भ्याक्सीन र दक्ष प्राविधिक व्यवस्था नगर्दा आफू र गाउँका किसानले ठूलो क्षती व्यहोर्नुपरेको गुनासो गरे । ‘रोग लागेपछि मैले नगरपालिकाका पशुसेवा शाखाका प्राविधिक महेन्द्र पन्थीसँग कुरा गरेँ तर तर प्राविधिकले भ्याक्सिन उपलब्ध गराउनु त परैको कुरा मैले जानेको जति सल्लाह पनि दिन सक्नुभएन’ उनले भने ।
काेरीयाबाट फर्केका उनले गाउँमै व्यवसाय गर्नुपर्छ भन्ने मनसायले कुखुरा पालनमा लागेपनि स्थानीय तहकाे व्यवहारले निराश बनाएकाे बताए । आफूले पहिल्यै बीमाका लागि नगरपालिकामा कुरा गरेपनि नगरपालिकाले कुखुराकाे बीमा गर्न नसकिने बताएका कारण ठूलाे क्षति भाेग्नुपरेकाे उनकाे दुःखेसाे छ ।
'बैदेशिक राेजगारी नै उपयुक्त हाे भन्ने काँधमा झाेला बाेक्ने हिँड्ने चलन गलत हाे भन्ने प्रमाणीत गर्न गाउँमा कुखुरा पालेकाे हुँ', उनले भने 'हेराैँ अब नगरपालिकाले कत्तिकाे सहयाेग गर्छ ।'
नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले भने आफूहरु त्यहाँ नपुगेको भन्ने कुरा गलत भएको भन्दै स्थानीय पशुसेवा केन्द्रको प्राविधिकले रोग पत्ता लगाउन नसेकपछि बुटवलबाट प्राविधिक मगाउँदा मगाउँदै किसानको धेरै क्षती भएको बताए । ‘स्थानीय प्राविधिकले नसकेपछि हामीले बुटवलबाट प्राविधिक बोलाउँदा बोलाउँदै किसानको धेरै क्षती भयो’, उनले भने ‘तर नगरपालिकाले नहेरको भन्ने कुरा गलत हो ।’
प्राविधिक सहायकलाई भन्दा भन्दा किसानलाई धेरै ज्ञान हुनु स्वभाविक भएको उनको भनाई छ । उनका अनुसार किसानलाइ क्षतिपूर्ति दिने विषयमा नगरपालिकामा छलफल भइरहेकाेले छ ।
स्थानीले भने घर घरमा पालेका लोकल कुखुरा मर्न थालेपछि धमाधम काटेर खाने गरेका छन् । रोगी कुखुरा खानु मानव स्वास्थ्यका लागि पनि घातक हुनसक्छ । ‘तर नगरपालिकाले जनचेतनाको कार्यक्रम सञ्चालन नगर्दा जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्छ तर जनताको स्वास्थ्य र किसानको समस्याको बारेमा नगरपालिकालाई कुनै सरोकार नै छैन,’ विकले भने ।
नगरपालिकाका मेयर सापकोटाले गाउँमा पुगेर आफुहरुले जनचेतनाको कार्यक्रम शुरु गरिसकेको बताउँछन् ।
प्रतिक्रिया