विद्युतीय माध्यमबाट गरिएको भुक्तानीमा कर फिर्ता दिने सरकारी घोषणा आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदासम्म पनि कार्यान्वयन हुन सकेको छैन ।
घोषणाको ९ महिनासम्म कार्यान्वयन हुन नसकेको उक्त सरकारी घोषणा तत्काल कार्यान्वयन हुन नसक्ने अबस्था देखिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै सामान खरिद गर्दा विद्युतीय माध्यमबाट भएको भुक्तानीका आधारमा मूल्य अभिवृद्धि कर रकमको १० प्रतिशतले हुने रकम उपभोक्तालाई फिर्ता दिने घोषणा गरेका थिए ।
सोही बमोजिम आर्थिक ऐन ०७६ मा ‘मूल्य अभिवृद्धि कर ऐन, ०५२ को दफा २५ (१ख) बमोजिम कुनै उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुनबमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरे निजलाई नगद प्रोत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रतिशतले हुन आउने रकम राजस्व विभागले तोकेको प्रक्रियाबमोजिम निजको बैंक खातामा फिर्ता गर्ने व्यवस्था गरेको छ’ भन्ने व्यवस्था गरिएको छ ।
उक्त विषयमा अध्ययन गर्न गठित समितिले सबै बिक्रेतासँग ग्राहकको बैंक खाता विवरण नहुने भएकाले विद्युतीय कार्डमार्फत भएका कारोबारमा भ्याट फिर्ता गर्न नसकिने प्रतिवेदन तयार पारेको छ ।
तत्काल स्वचालित रूपमा मूल्य अभिवृद्धि कर रकम यकिन गरी १० प्रतिशत रकम फिर्ता गर्न सकिने स्थिति नदेखिएकोले कार्डबाट हुने भुक्तानीमा तत्कालका लागि कर रकम फिर्ता गर्ने व्यवस्था लागू हुन नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
समितिले विद्युतीय कार्डबाहेक अन्य भुक्तानी माध्यम (गैरबैंकिङ भुक्तानी प्रणाली, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ) बाट भएको कारोबारमा भने कर फिर्ता गर्न सकिने बताएको छ ।
कार्डबाट हुने भुक्तानीमा पनि भ्याट फिर्ताका लागि रकम फिर्ता गर्न कार्यविधि तयार गर्नुपर्ने, विद्युतीय बिजकसम्बन्धी कार्यविधि ०७४ लाई संशोधन गर्नुपर्ने, विद्युतीय बिजकसम्बन्धी सफ्टवेयर संशोधन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
कर फिर्ता व्यवस्था कार्यान्वयनका लागि आन्तरिक राजस्व विभाग, राष्ट्र बैंक र बैंकर्स संघका प्रतिनिधिसहितको संयुक्त अध्ययन समितिले तयार पारेको प्रतिवेदन स्वीकृतिका लागि अर्थ मन्त्रालयमा छ ।
९ महिनासम्म रकम फिर्ता गर्ने कार्यविधि तयार, विद्युतीय बिजकसम्बन्धी कार्यविधि ०७४ संशोधन र सफ्टवेयर संशोधन नगरेको सरकारले जनताबाट उठाउने करमा कडाइ गर्ने तर जनतालाई दिने सेवामा भने आलटाल गर्ने गरेको सरोकारवालाको आरोप छ ।
प्रतिक्रिया