जिल्लामा पछिल्लो समय आरन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् ।
केही समय पहिले करीब–करीब लोप हुने अवस्थामा रहेका यहाँका आरन व्यवसायी पछिल्लो सयम फेरि जुर्मुराउन थालेका छन् । आरन व्यववसायबाटै यहाँका अधिकांश आरन व्यवसायीले मनग्य आम्दानी थाप्ने गरेका छन् ।
उक्त पेशाकै कारण उनीहरुलाई पछिल्लो समय आफ्नो खर्च चलाउन निकै सहज भएको छ । आरन व्यवसाय फस्टाउन थालेपछि उनीहरुलाई अहिले आफ्नो कामकाजमा भ्याइनभ्याई हुन थालेको छ । पुख्र्यौली घर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला भएका धनीराम ओडले दिपायलस्थित राजपुरमा खोल्नुभएको आरन व्यवसायले मनग्य आम्दानी गरेका छन। ।
आफ्नो पेशाप्रति उनी निकै सन्तुष्ट छन । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नकर्मी पेशाबाट आफ्ना पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खानपिन र व्यक्तित्व विकासमा ढाल्न उहाँ प्रयत्नशील भएको बताउछन । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उहाँले आफनो व्यवसाय राम्रै चलाएका छन। ।
विगत १० वर्षदेखि डोटीको दिपायलस्थित राजपुर बजारभन्दा केही पर, रोड नजिकैको सरकारी जग्गामा एउटा सानो घर बनाएर व्यापारिक हिसाबले नकर्मी पेशा गरिहेका ओड आफ्नो कामप्रति गर्व गर्छन ।
बच्चादेखि नै फलामको काम सिकेर हाल ५९ वर्षको उमेरसम्म पनि लोप हुँदै गइरहेको पुख्र्यौली पेशालाई शिरोधार्य गर्दै आएका ओड स्थानीय सरकार तथा सरोकारवाला निकायसँग गुनासो गर्छन, “हाम्रो नगरपालिका तथा सरोकारवाला निकायले हामी र हाम्रो पेशालाई समेत हेप्दै र चेप्दै गएका छन् । हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ, जोगाउनुप¥यो ।”
दिपायलस्थित पिपल्ला राजपुर बजारमा मात्रै होइन, यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा तथा अछाम नजिकका गाउँबाट समेत कृषिका लागि प्रयोग हुने फलामे साधन बनाउनका लागि स्थानीयवासी उहाँको घरमा पुग्ने गरेको ओड बताउछन ।
विगत १० वर्षदेखि नै सरकारी जमीनमा घर बनाएर फलाम पिट्ने काम गरिरहेको र आजसम्म काममा कुनै किसिमको नकारात्मक प्रभाव नपरेकाले ग्राहक विश्वास गरेर आउने गरेको र खुशी भएर दुई÷चार पैसा ज्यालाभन्दा बढी नै दिएर जाने गरेको उनले बताए । उनले भने, “मैले भनेअनुसारको सामग्री बनाएकाले मसँग ग्राहक खुशी हुन्छन्, तर स्थानीय सरकारले अहिलेसम्म सहयोग गर्न सकेन र मैले गरेको परिश्रम देखेन ।”
ओडको आँखामा आफ्नो पेशाप्रतिको इमान्दारी र कतव्र्य स्पष्ट देखिन्छ । उनी बिहानै ७ बजे आफ्नो निरन्तरको काममा निस्किन्छन । दिनभरि काम गर्नुहुन्छ । कहिले कमाइ राम्रै हुन्छ, दिनको रु ९०० देखि एक हजारसम्म हुने गरेको उनको भनाइ छ । उनको आरनमा औजार बनाउन आउनेहरुको लगभग दैनिक घुइँचो नै हुन्छ । जनशक्तिको अभावमा आफूले खासै चाहेजति काम गर्न नसकिरहेको ओेड बताउछन ।
दुई छोरा, एक छोरी र श्रीमतीसहित पाँच जनाको परिवारको घर खर्च र छोराछोरीको स्कूल खर्चसमेत फलाम पिटेरै धानेको उनको भनाइ छ । आरन व्यवसायकै कारण उनले छोराछोरीलाई नजिकैको बोर्डिङ स्कूलमा पढाउन सफल भएका छन। भोलिका दिनमा आफ्ना सन्ततिले राम्रो पढेर डाक्टर, इञ्जिनीयर बन्न सकुन् भन्ने उनको चाहना छ ।
त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्ये आम्दानी गरेका छन । वडा कार्यालयको आर्थिक सहयोगमा उहाँले आफनो गाउँमा आरन व्यवसाय शुरु गरेका हुन। उनको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउनेको सधैँ भीड लाग्ने गरेको छ ।
आरन व्यवसायबाट नगद कारोवार हुन थालेपछि उनले आफ्ना तीन छोराछोरी सजिलैसँग स्कूल पढाइ राखेका छन । छोराछोरीसहित पाँच जनाको परिवारलाई उनले आरन व्यवसायबाटै राम्रैसँग पाल्दै आएका छन ।
त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–१ का आरन व्यवसायी जगत् लुहारले पनि गाउँमा राम्रैसँग आरन व्यवसाय चलाउँदै आउनुभएको छ । गाउँपालिकाको केही आर्थिक सहयोगबाट उहाँले आरन व्यवसाय शुरु गरेका हुन । जिल्लामा आरन व्यववसाय लोप हुने अवस्था आएपछि यहाँका स्थानीय तहले आरन व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिकरूपमा आरन व्यवसाय गर्न इच्छुकहरुलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगरप्रमुख मञ्जु मलासीले बताए ।
उनले भने, “आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्याउने छौँ ।”
प्रतिक्रिया