केहीबेर अघि देखि खण्डग्रास सूर्यग्रहण सुरु भएको छ ।
नेपाल पञ्चांग निर्णयक समितिका अनुसार महेन्द्रनगरमा ८ः३८, काठमाडौंमा ८ः४२ तथा झापामा भने ८ः ४८ मिनेटबाटग्रहण शुरु भएको हो ।
सूर्य ग्रहण ग्रहण ११ः३१ बजेसम्म लाग्नेछ ।
शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ज्योतिषीहरूका अनुसार, ग्रहणका बेला भोजन, मैथुनलगायतका कार्य गर्नु हुँदैन । यी कार्य गर्दा अशुभ हुन्छ । तर, वैज्ञानिकहरू भने यसमा सहमत छैनन् ।
ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।
मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।
शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।
प्रतिक्रिया