गर्भवती सुत्केरीको हातमा अण्डा, घरमा झण्डा

६ बर्ष अगाडि

गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गर्ने भएको छ ।
   
नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइने भएको छ । 

त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडा कुखुराको भाले, पोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ । गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेको महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने सिंहले जानकारी दिए ।

प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिनेछ । अर्थ अभाव भएकै कारण सुत्केरी भएको समयमा खाना नपाएपछि कुपोषण भएर धेरैको अकालमै ज्यान जाने गरेको दुःखद् अवस्थालाई हल गर्न नगरपालिकाले सबै खालका महिलालाई समानताका आधारमा मूल प्रवाहमा ल्याउनका लागि विशेष योजना ल्याएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । 
  
उनका अनुसार नलगाड नगरपालिका–२ डाँडागाउँ, ३ कैना, ४ लहँ, ११ चौखा र १२ भगवतीस्थित स्वास्थ्य संस्थामा अनलाइन डाटा सम्प्रेषणका लागि कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया