काठमाडौँ- राजधानीको काँडाघारीबाट आइतवार साँझ अपहृत बालक निशान खड्काको जीवितै उद्दार सम्भव थियो ? विज्ञहरुको रायअनुसार, प्रविधिको प्रयोगमा सहजता र प्रहरीबीच समन्वय भएको भए बालकको जीवितै उद्दारको सम्भावना थियो । बालक अपहरणको सूचना प्राप्त भए लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो, यस्ता घटनामा ठूलो मात्रामा सुरक्षाफौज परिचालन गर्नुले अपहृत व्यक्तिको ज्यान जाने खतरा बढी हुन्छ, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
अपहरणकारीले आइतवार साँझ ८ बजे बालककी आमालाई दुई पटक फोन गरी फिरौती माग गरिसकेका थिए, ती अधिकारीले भने, ‘यस्तो बेला पीडितको परिवारलाई फिरौतीको सम्बन्धमा बार्गेनिङ गर्न दिनुपर्नेमा वर्दीधारी प्रहरीले घेरामा राख्नु प्राविधिकरूपमा उचित होइन ।’
बालक अपहरण परेको खबर पाउना साथ महानगरीय प्रहरी परिसरले मात्रै होइन महानगरीय प्रहरी अपराध महाशाखाले पनि घटनास्थल वरपर ठूलो मात्रामा वर्दिधारी प्रहरी खटाएको थियो । शादा पोशाकका सुराकी गर्ने प्रहरी खटाउनुपर्नेमा मुठभेडमा उत्रने जस्तो गरी वर्दिधारी प्रहरीको बाक्लो परिचालनले गर्दा अनुसन्धानमा कठिनाई भएको प्रहरीको दाबी छ ।
अपहृत बालककी आमा चमेली खड्कालाई प्रहरीले आफ्नै भ्यानमा राखेर अपहरणकारीसँग फिरौतीको ‘बार्गेनिङ’ गर्न लगाएको थियो । यसले पनि बालकमाथि जोखिम बढायो, अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले बताए ।
अपहृत बालक निशानको परिवारको सम्पर्कमा प्रहरी एकैसाथ पुग्यो, यसले अपहरणकारीलाई आफू पक्राउ पर्ने डर सिर्जना गर्यो, यही कारण उनीहरुले बालकको राति नै हत्या गरेको देखियो, अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भने, ‘सादा पोशाकका प्रहरी खटाइसकेको अवस्थामा अन्य (बर्दिधारी) प्रहरीको परिचालन अस्वाभाविक भयोे ।’
त्यस्तै, फिरौती माग्न प्रयोग भएको मोबाइलको ‘नयाँ सिमकार्ड’ अपहरणकारी गोपालकै नाममा दर्ता देखिन्छ । यो सीम फिरौती माग्नलाई दुई पटकसम्म प्रयोग भएको थियो । प्रहरीले सीम प्रयोग भएको ‘लोकेसन’ सानोठिमी क्षेत्र भएको आइतवार राति नै पत्ता लगाइसकेको थियो तर सीम दर्ता र मोबाइलको आईएमई नम्बर लगायतका विवरण तथा सिडिआर (कल डिटेल रिपोर्ट) भने सोमवार विहानमात्र प्रहरीलाई प्राप्त भएको थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया