काठमाडौं - मानिसहरूले बैंक, बीमा लगायतका पब्लीक कम्पनीमा किन शेयर हाल्छन ? यसको सामान्य उत्तर हो, बैंकको निक्षेप तथा अन्य क्षेत्रमा गरिएको लगानीले भन्दा बढी मुनाफा दिन्छ भनेर । तर सिभिल बैंकको शेयरधनीको हकमा त्यो लागू भएन ।
उनीहरुको लगानीमा नै खडा भएको उक्त बैंकले आम निक्षेपकर्तालाई बार्षिक ९.२५ प्रतिशतसम्म व्याज दिँदै आएका छ । तर, बैंक स्वयम शेयरधनीहरु भने गत आवको मुनाफाबाट ६.५७ प्रतिशत लाभांशमा सिमित भए ।
उनीहरुले बैंकको शेयरधनी भएर पनि लाम्रो रिर्टन पाउनन सकेनन् । उनीहरुले सिभिल बैंकमा शेयर हाल्न भन्दा त्यो पैसा त्यही बैंकको निक्षेपमा राखेको भए बढी मुनाफा पाउने थिए । तर, बैंकले राम्रो व्यवसाय गर्न नसक्दा उनीहरुले राम्रो नाफा कमाउन सकेनन् ।
यसरी बैंकले राम्रो मुनाफा दिन नसकेपछि शेयरधनीहरु बैंक प्रति भंकर असन्तुष्ट देखिएका छन् । आइतबार काठमाडौंमा सम्पन्न बैंकको नबौं बार्षिक साधारण सभामा पनि अधिकांशहरु शेयरधनीले लाभांश प्रति चित्त दुखाए ।
बैंकले गत आवको मुनाफाबाट ६.५७ प्रतिशत मात्रा नगद लाभांश दिएको छ । तर, बोनस शेयर दिन सकेन । बैंकले बोनस र नगद लाभांश गरेर १० प्रतिशत भन्दा बढी लाभांश दिनुपर्ने उनीहरूको भनाइ छ । यस अवस्थामा उनीहरुले बैंकलाई मर्जरमा जान दवाव पनि दिएका छन् । बैंकले आव २०७४÷७५ को नाफाबाट पनि जम्मा ४.५ प्रतिशत लाभांश दिएको थियो ।
पछिल्लो समय सिभिल बैंक अरु बैंक भन्दा धेरै पछाडी देखिन्छ । निक्षेप, कर्जा विस्तार, नाफा कमाउने लगायतका बिषयमा शिभिल बैंक अन्तिम नम्बरमा छ । बैंकले तलब, विज्ञापन जस्ता व्यवस्थापकीय पक्षमा धेरै खर्च गर्दा उचित लाभांश दिन नसकेको उनीहरूको लगानकर्ताहरुको भनाइ छ ।
यसरी बैंकको व्यवसाय खच्किदै गएपछि शेयरधनीले व्यवस्थापनको क्षमता माथि नै प्रश्न उठाएका छन् । अब बैंकलाई मर्जरमा लगेर व्यवस्थापन पक्ष बलियो बनाउनुपर्ने शेयरधनीहरुको भनाइ छ । एक शेयरधनीले भने, ‘व्यवस्थापन पक्षलाई बलियो बनाउन बैंक चालु आर्थिक बर्ष भित्र मर्जरमा जान आवश्यक छ ।’ बैंकले यसमा ढिला गरे मर्जरका लागि राम्रो संस्था गुमाउने उनको तर्क थियो ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई मर्जरमा मर्जर जान दवाव दिँदै आएको छ । त्यसमाथि सिभिल बैंकलाई शेयरधनीले पनि दवाव दिन थालेका छन् । सभामा बैंकका अध्यक्ष इच्छाराज तामाङले बैंकलाई मर्जर लैजाने प्रयास गरेको बताए थिए । आगमी बर्ष सम्म बैंकलाई मर्जरमा लैजाने उनको भनाइ थियो । सभाले मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।
प्रतिक्रिया