सवारी ज्यान मुद्दामा बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका छन् ।
२०६३ साल भदौ २९ मा जिल्ला अदालतबाट जेल सजाय पाएका उनलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बाराको अनुमतिमा जेल पठाइएको हो ।
२०६२ माघ २८ गते राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा–३ मा ठक्कर दिँदा घाइते भएकी ६५ वर्षीया हसियादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो ।
सोही घटनाको मुद्धा सुनुवाई गर्दै जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ मा राउतलाई २९ दिन जेल र दुई हजार जरिवानाको सजाय सुनाएको थियो ।
जेल सजाय फैसला भएका राउत चुनाव लडेर विजयी भएपनि प्रहरीले फरार रहेको भन्दै पक्राउ गरेको थिएन ।
तर बारा प्रहरीले सजाय भुक्तान नगरेका फरार अभियुक्तहरुलाई पक्रने क्रममा अध्यक्ष राउतलाई पनि पक्रेर अदालतमा बुझाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।
प्रतिक्रिया