दाङ खाद्यान्नमा आत्मनिर्भर

६ बर्ष अगाडि

दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ ।  वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । 

जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे भन्दै कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिए । उनका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ । 

दाङमा प्रतिव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक पर्ने गरेको उनको भनाइ छ । बचतका हिसाबले आठ हजार ४०१।८३ मेट्रिक टन बचत हुँदै आएको छ । प्रतिव्यक्ति ०।०१ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको सहायक सूचना अधिकारी चौधरीले जानकारी दिए । 

जिल्लामा अहिले उत्पादन हँदै आएको खाद्यान्न बाहिरसमेत निर्यात हुने गरेको छ । कृषि पेशामा जिल्लाका नागरिक आत्मनिर्भर भइरहेको हुँदा यहाँ उत्पादित वस्तु बाहिर निर्यात हुने गरेको उनले बताए । अहिले जिल्लामा मुख्य खाद्यान्नका रूपमा धान, मकै, गहुँ, कोदो, जौ, फापर आवश्यकता भन्दा उत्पादन हुँदै आएको छ ।

दाङको समथर भागमा विशेष गरेर अहिले धान उत्पादन हुने गरेको छ । माथिल्लो भेगमा कोदो, फाफर, जौ तथा देउखुरी क्षेत्रमा मकै बढी उत्पादन हुने गरेका ज्ञान केन्द्रले जानकारी दिएको छ । बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको जनाइएको छ ।

कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्री–वितरण गर्दै आएको बताएका छन् । जिल्लामा खाद्यान्न बढ्दै गएको हुनाले भोलिका दिनमा पनि खाद्यान्नमा समस्या नहुने सहायक सूचना अधिकारी चौधरीले बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया