ललितकला प्रज्ञा प्रतिष्ठान र प्रिन्ट नेपालको आयोजनामा एकहप्ते कार्यशाला शुरु भएको छ । कार्यशालामा प्रिन्ट कलामा आधारित विभिन्न चित्र निर्माण गर्न लागिएको हो । विगत चार वर्षदेखि हरेक वर्ष कार्यशाला गर्दै आएको संस्थाका अध्यक्ष उषाशङ्कर शाहले बताए ।
“यो विज्ञानमा आधारित कला हो”, उनले भने,“चित्र मेटलपातामा, कपर जिङ्क, व्रास आइरन, ढुङ्गाको पातामा निर्माण गरिन्छ ।” उनले सुनको पाताबाट चित्र निर्माण गर्न शुरु गरिए पनि पछि विभिन्न प्रविधिको विकास भएको बताए । चित्र यर्चिङ प्रेस, उड प्रेस, लिथो प्रेसमार्फत प्रकाशित गरिने उनले जानकारी दिए ।
कार्यशालमा ४४ ले भाग लिएका छन् । एक सातासम्म निर्माण गरिएका चित्र समापनका दिन प्रदर्शनमा राखिनेछ । “अहिले प्रिन्टकलामा स्नातक र स्नातकोत्तरसम्मको अध्ययन गर्न पाइन्छ”, उनले भने, “यो पेशाप्रति आकर्षण बढेको देख्दा खुशी लाग्न थालेको छ ।” कलाकारले मानवजीवन, प्रकृति र देवीदेवतासँग सम्बन्धित चित्र तयार पार्दैछन् ।
“प्रिन्टिङ कलाको इतिहास ६० वर्षभन्दा लामो छ, उर्मिला उपाध्यायले फ्रान्समा गई यो विधाको अध्ययन गरेर आएपछि शुरु भएको हो, बीचमा केही समय यो कलाको प्रयोग गर्ने क्रम घट्दै गयो”, उनले भे, “विसं २०५३ बाट त्रिभुवन विश्वविद्यालयले यो विधामा पठनपाठन शुरु गरेपछि महत्व बढ्न थालको हो ।” संस्थाका सदस्यचिव भिसनराज भण्डारीले प्रिन्टिङकलाको बजार पनि राम्रो रहेको बताए ।
प्रतिक्रिया