टिमुरकाे प्रयाेग गरेर मधुमेह र उच्च रक्तचापको उपचार खोज्ने नेपाली रसायनशास्त्री डा. अच्युत अधिकारीलाई संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले पुरस्कृत गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अधिकारी युनेस्कोले वर्ड एकेडेमी अफ साइन्स मार्फत् दिने ‘अट्टा–उर–रहमान पुरस्कार–२०१९’ बाट पुरस्कृत भएका हुन् ।
युनेस्कोले हरेक वर्ष विभिन्न क्षेत्रमा खोजी गरेबापत एक जना रसायनशास्त्री वा वायोकेमिस्टलाई दिने उक्त पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ ।
अधिकारीले नेपालमै हुने प्राकृतिक उत्पादन टिमुरको प्रयोग गरेर मधुमेह र रक्तचाप लगायत रोगहरुबाट मुक्ति पाउन सकिने विषयमा खोजी गरेका थिए ।
पाकिस्तानबाट विद्यावारिधि गरेका उनले ब्राजिलबाट महाविद्यावारिधिको उपाधि पाएका थिए ।
अध्ययन सकेर साढे २ वर्षअघि उनी नेपाल फर्किएका उनले प्राकृतिक उत्पादन अनुसन्धान प्रयोगशाला स्थापना गरी नयाँनयाँ अनुसन्धान गर्दै आएका छन् । उनका अनुसन्धानहरु स्थानीय बोटबिरुवाहरुसँग सम्बन्धित छन् ।
पुरस्कार पाएपछि उनले प्राकृतिक उपचार विज्ञान र अरु वैज्ञानिक खोजको लागि आफूलाई थप उर्जा मिलेको बताए ।
चिकित्सासम्बन्धी उपयोगी वस्तुको खोजीले विश्वव्यापी बजारमा नेपालको महत्व बढाउन सक्ने पनि उनको प्रतिकृया छ ।
पाकिस्तानमा हुँदा मधुमेह र क्यान्सरका लागि प्राकृतिक वनस्पतिहरुको खोजीमा केन्द्रित भएको तर नेपाल फर्किएपछि परिष्कृत प्रयोगशालाहरू नभएको कारण प्रयोगशालाको स्थापनातिर ध्यान केन्द्रित गरेको उनले बताए ।
प्रतिक्रिया