ठूला नदीमा पानीको सतह बढदा जोखिम बढ्यो, छैन कुने सरकारी तयारी

७ बर्ष अगाडि

काठमाडौँ । देशव्यापी रुपमा नै बर्षा भइरहेको छ । बर्षका कारण सम्म र होचो स्थान भएका क्षत्रेमा निर्माण भएका घर तथा आवास समेत डुबानमा परेका छन् ।

राजधानीको  भक्तपुर आइतबार पुनः डुब्यो । आजको बर्षाका कारण वाग्मती नदी किनारका बस्ती समेत डुबेका छन् ।

बाग्मती नदी किनारको सुकुम्बासी बस्ती नराम्ररी प्रभावित भएको छ ।

यस्तै राजधानीका एक दर्जन बढी स्थानमा नदी पसेका छन् ।

नदीको सहित मिचेर निर्माण गरिएका संरचनाका कारण बस्ती डुबानमा परेको र जोखिम समेत बढेको हो ।

सरकारी निकायले कुनै पनि छानबिन नगरीकन नदी किनारमा घर तथा आवास बनाउने स्वीकृति दिएका कारण समस्या थप जटिल बन्दै गएको हो ।

नदी किनारका बस्तीमा जोखिम बढेपनि समसया समाधानका लागि देखिने गरी पहल नभएकोमा गुनासो बढ्दै गएको छ ।

चार वर्ष पहिले महाकाली नदीका कारण समस्यामा परेको दार्चुलाबासीले हालसम्म राहत पाएका छैनन् ।

तीन वर्ष पहिले सुर्खेत, दाङ, बाँके बर्दियाका बाढी पीडितले समेत राहत पाएका छैनन् । पुनः निर्माण प्राधिकरण मार्फत राहत उपलब्ध गराउने भनिएपनि ती जिल्लाका बाढी पीडितले हालसम्म राहत नपाएको गुनासो गरेका छैनन् ।

यस्तै केही दिन पहिले हनुमन्ते खोलाको बाढीका कारण पीडित भएका भक्तपुरबासी पुनः बाढीको चपेटामा परेका छन् । तर समस्या कसरी समाधान गर्ने भन्ने बारेमा न त स्थानीय सरकारले पहल गरेको छ । नत प्रदेश सरकार न त संघीय सरकारले नै ।

केही दिनदेखिको अबिरल वर्षाले देशका प्रमुख नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ ।

प्रमुख नदीमा पानीको सहत बढेपछि केही नदीमा आपतकालीन स्थिती देखिएको मौसम पूर्वानुमान महाशाखाको बाढी इकाइृले जानकारी दिएको छ ।

विशेष गरी महाकाली, कोसी, कर्णाली, बबई, पश्चिम राप्ती, बाग्मती, कमला, कन्काईलगायत ठूला नदीमा पानीको मात्रा बढेको छ ।

यस्तै चुरे क्षेत्र भएर बहने साना तथा मझौला नदीमा समेत पानीको मात्रा बढेको छ ।

यस्तै पहाडी तथा खहरे क्षेत्रबाट बहने साना तथा मझौला नदीमा समेत पानीको बहाव बढेको छ ।

 खहरे खोलामा पानीको सतह क्रमशः बढिहेको र त्यसले समस्या पार्ने भन्दै मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले एलर्ट गराइराखेको छ ।

पूर्वमा कोशी नदीमा तोकिएको मात्रा भन्दा करिब करिब माथि बाढी पुग्न लागेको छ । कोशी व्यारेजमा थप ढोका खोल्नुपर्ने अवस्था आएको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै  मध्य तथा सुदुर पश्चिम क्षेत्रमा अहिले भारी वर्षा भइरहेकाले बबई नदीमा पानीको सतह खतराको बिन्दुमा पुगेको छ ।

बबई नदीको जलाधार क्षेत्रमा व्यापक बर्षा भइरहेको छ । जसका कारण बाढीको  खतरा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

कैलालीको राजापुरमा पछिल्लो २४ घन्टामा १ सय ५० मिलिमिटर बर्षा भएको छ । जसका कारण स्थानीय नदीहरुमा पानीको मात्रा अधिक रहेको छ ।

दाङमा बाढीले एक यात्रु बहाक बस नै बगाएको छ । बसमा सवार यात्रु घाइते भएका छन् ।

पश्चिम राप्ती नदीको पानीको सतह पनि सतर्कता नजिक पुगेको छ ।

दाङ, बाँके, बर्दिया, कैलाली र कन्चरपुर जिल्लाको चुरे क्षेत्रबाट बगेर आउने बाणा, मछेली, मोहना, कान्त्रालगायत खोलामा ठूलो मात्रामा जलसतह बढेको छ ।

जसका कारण आकस्मिक बाढीको पूर्वानुमान गरिएको छ । बाढीको खतरा भएका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क अवस्थामा रहन विभागले पटक पटक एलर्ट गराएको छ ।

मध्य तथा सुदुर पश्चिममा सोमबार, मंगलबार र बुधबारसम्म भीषण बर्षा हुने देखिएको छ । भीषण बर्षा हुने क्षेत्रमा सर्तकता अपनाउन गृह मन्त्रालयले आवश्यक परिपत्र गरेको छ ।

देशभरको पहाडी क्षेत्रमा मौसम बदली भइ वर्षा भइरहेको छ । जसका कारण बाढी आउने अत्याधिक सम्भावना बढेर गएको छ ।

राजधानीकै नदी किनारका बस्ती समेत डुब्न थालेपछि उच्च सतर्कतका अपनाउन आग्रह गरिएको जानकारी दिदै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राहत र उद्दारका लागि सबै निकायलाई तम्तयारी हालतमा राखिएको र कुनै पनि समस्या हुन नदिने जानकारी दिए ।

उनले राहत तथा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस तथा अन्य सामािजक संघ संस्थालाई पनि तयारी हालतमा राखिएको जनाए । यस्तै तत्काल राहत तथा उद्दारका लागि विराटनगर, हेटौडा, काठमाडौँ, पोखरा, सुर्खेत र नेपालगन्जमा हेलिकोप्टर तयारी हालतमा राखिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया