प्रतिनिधिसभामा चार पूर्व सांसदप्रति शोक प्रस्ताव पारित

६ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको पहिलो बैठकले विभिन्न मितिमा निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । 

संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा एमालेका तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधन भएको थियो । 

तत्कालीन  एमालेका तर्फबाट २०५१ सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि वैरागी दाहालको ६२ वर्षका उमेरमा गत असोज ३ गते निधन भएको थियो । 

त्यसैगरी एमालेकै तर्फबाट २०७० सालको संविधानसभामा  समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षका उमेरमा गत कात्तिक ९ गते निधन भएको हो ।

एमालेकै तर्फबाट धनुषा ५ बाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित रामलखन महतोको ६६ वर्षका उमेरमा गत कातिक १५ गते निधन भएको थियो ।  भक्तपुर २ बाट   कांग्रेसका तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित सदस्य रामेश्वर ढुङ्गेलको ५९ वर्षका उमेरमा यही पुस १ गते निधन भएको थियो । 

शोक प्रस्तावमा चारै पूर्वसांसदले प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पु¥याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
 
उनीहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही पुस ११ गते अपराह्न १ बजे बस्नेछ । 

६ बर्ष अगाडि

प्रतिक्रिया