खरको छानो विस्थापित हुँदै

६ बर्ष अगाडि

“आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीगाउँका गोरखबहादुर नेपालीले भने, “अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अब खर विस्थापित गरेर जस्तापाताले घर छाउन गाउँपालिकामार्फत सङ्घीय सरकारले सहयोग गर्ने खबरले खुशी छु  ।” 

खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा बढी हुने भन्दै उनले सजिलै खर पनि नपाउँदा समस्या झेल्दै आएको बताए। 

घर जस्तापाताले छाउन पाएर खुशी हुने उनी एक्लै हुोइनन । बारेकोट गाउँपालिका–६ स्थित तीन गाउँमा रहेका ८० दलित परिवारमा यतिबेला उत्साह छाएको छ । गाउँपालिकाले ताँसी, धुमा र घर्तीगाउँका दलित समुदायका घरहरुमा खरको छाना विस्थापित गरिने अभियान थालेपछि स्थानीयवासीले राहत महसुस गरेका हुन् । ताँसी, धुमा र घर्तीगाउँका करिब ८० घरधुरी दलित समुदायका घरमा खरको छाना विस्थापित गर्न लागिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

आफूसँग बजेट नभएपछि सङ्घीय सरकारलाई बारेकोट गाउँपालिकाले खरको छाना विस्थापित गर्न आग्रह गरेको थियो । सोही आधारमा सहयोग प्राप्त भएको हो गाउँपालिकाका अध्यक्ष शाहले भने, “खरको छानो भएका सबै घर जस्तापाताले छाउने हो । यसका लागि यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त भएको छ ।” शाहका अनुसार अब बोलपत्र आह्वान गरेर छिट्टै खर विस्थापित अभियान शुरु हुनेछ ।

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सङ्घीय सरकारले यो गाउँपालिकाका लागि ८० घर छनोट गरेर रकम उपलब्ध गराएको हो  । खरको छानोमुक्त गर्नका लागि प्रतिघर ५० हजार रुपैयाँका दरले लाभग्राहीले अनुदान पाउनेछन् । यस कार्यक्रमले दलित, असहाय, विपन्न समुदायलाई प्राथमिकता दिएको छ । 

सरकारी अनुदानबाट जस्ताले घर छाउने रहर पूरा हुने भएकोमा स्थानीयवासी दङ्ग छन् । छिमेकी जस्तापाता छाएको घरमा बसेको देख्दा रहर लागेको तर हैसियत नभएर त्यत्तिकै बस्नुपरेको भएको स्थानीयवासी डिल्लीबहादुर विकले बताए। उनले भने, “प्रत्येक ३ वर्षमा खरको छाना फेर्नुपर्दथ्यो । पछिल्लो समय पर्याप्त खर पनि पाइँदैन । एउटा घरको छाना छाउन डेढ सय भारी खर चाहिन्छ । प्रतिभारी डेढ सय रुपैयाँ पर्छ । खर भए पनि घर छाउन सिपालु पाउन मुस्किल हुन्थ्यो ।”

यहाँ दलित समुदायलाई मात्र उपलब्ध गराउने भनिएको रहेछ, सबैलाई भएको भए राम्रो हुने अर्का स्थानीयवासी नरबहादुर चलाउनेले बताए। यी तीन गाउँमा सबैभन्दा बढी हावा चल्ने गर्दछ । 

६ बर्ष अगाडि

प्रतिक्रिया