सीमा क्षेत्रमा थप ११४ बिओपी स्थापना गरिने

६ बर्ष अगाडि

मन्त्रिपरिषद् बैठकले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत थप ११४ बिओपी (बोर्डर आउटपोस्ट) स्थापना गर्ने निर्णय गरेको छ । हालसम्म १०७ रहेको, थपिएपछि अब २२१ हुने र यसले सीमा क्षेत्रको अपराध नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने मन्त्री बाँस्कोटाले बताए । 

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१, छाङरुङबाट वडा नं २ दुम्लिङसम्मको घोडेटो बाटो सङ्घीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसबमोजिम श्यामसुन्दर केसीलगायत ११९ व्यक्ति तथा परिवारलाई कूल रु ५८ लाख पाँच हजार ८९५ सहायता अथवा क्षतिपूर्तिवापत उपलब्ध गराउने निर्णय गरेको छ ।

मित्रराष्ट्र बङ्गलादेशको औपचारिक भ्रमणमा सहभागी हुन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको चार सदस्यीय भ्रमण दललाई स्वीकृति दिइएको छ । मन्त्रिपरिषद्ले वाग्मती सभ्यता संरक्षण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइको छ भने राष्ट्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, २०७६ स्वीकृत गरेको छ । त्यस्तै, स्वास्थ्य संस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गरेको छ । सेनिटरी प्याड(वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया