गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि उत्पादनसँग जोडिनु अपरिहार्य हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आजदेखि पोखरा–२७ डाँडाको नाकमा शुरु १६औँ लेखनाथ महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले उत्पादनमा जोड नदिँदासम्म आयआर्जन बढाउन नसकिने बताए ।
देशको समृद्धि र विकासका लागि उपयुक्त वातावरण निर्माण भएको बताउँदै उनले पछिल्ला समयमा उद्योग तथा व्यापारको वातावरण बढिरहेको उल्लेख गरे । नेपालीको पिँढीमा स्थानीय सरकारका साथै आँगनमा प्रदेश सरकार रहेको उल्लेख गर्दै उनले जनताले अपेक्षा गरेअनुसारको समृद्धि र विकासको चाहना पूरा गर्नु वर्तमानको आवश्यकता भएको बताए ।
गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्दै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत उनीहरूका आधारभूत आवश्यकतालाई पूरा गराउने लक्ष्यका साथ सरकार लागि परेको उनले बताए । लेखनाथ महोत्सव नेपालकै ठूलो महोत्सवका रूपमा अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले यसले राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश दिएको उल्लेख गरे ।
सांसद खगराज अधिकारीले उत्पादनमा जोड दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न उद्योगधन्दा कलकारखनाको विकास तथा विस्तारमा लाग्नुपर्ने बताए । पूर्वमन्त्री यज्ञबहादुर थापाले लेखनाथ महोत्सवका माध्यमबाट यस क्षेत्रका सर्वसाधारणले देखाएको एकता, सद्भाव यहाँको समग्र विकासका लागि पनि प्रेरक बन्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले देशमा उद्योग धन्दाको विकासका माध्यमबाट आर्थिक समृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए। लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकालले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि पुस १५ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिए ।
औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, प्रदेशसभा सदस्य विन्दु थापा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठलगायतले महोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न आमा समूह, टोल विकास संस्थाका साथै विभिन्न जातजाति सम्बद्ध झाँकी प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया