गोरखामा फुटबल प्रशिक्षणका लागि कृत्रिम घाँसेमैदान निर्माण गरिने भएको छ ।
गोरखा नगरपालिका–९ दल भन्ञ्याङमा द ओसन क्बलले घाँसे मैदान निर्माण गर्न लागेको क्बलका अध्यक्ष अमित खत्रीले जानकारी दिए । “क्बलले आफ्नै सक्रियतामा विश्व फुटबल महासङ्घ फिफा को अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेल मैदानमा कृत्रिम घाँस विछ्याउन लागेको हो”, उनले भने, “कृत्रिम घाँस चीनबाट ल्याउने तयारी भइरहेको छ ।”
क्बलले ४६ मिटर लम्बाइ र २३ मिटर चौडाइ रहेको मैदानमा घाँस विछ्याउन लागेको उनले जानकारी दिए । “वर्षायामको समयमा हाल रहेको मैदानमा खेलाडीलाई नियमित फुटबल प्रशिक्षण दिन समस्या हुँदै आएको छ”, अध्यक्ष खत्रीले भने, “अहिले पनि ४० जनालाई नियमित प्रशिक्षण दिँदै आएका छौं तर जव पानी पर्छ, मैदान हिलो र लामो समय पानी नपर्दा मैदान धुलो भएर समस्या हुन थालेपछि घाँस विछ्याउन लागिएको हो ।”
चार महिनाभित्रमा मैदान निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाइ थियो । मैदान निर्माणका लागि गोरखा नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए। नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेल मैदानसँगै पौडी पोखरी, जिम हलसहितको भवन बनाउने योजना क्बलले बनाएको उहाँले बताए। “मैदानलाई भाडामा पनि प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको छ ”, उनले भने।
घाँसे मैदान निर्माण गर्न घाँस खरीदका लागि मात्र १६ लाख रुपैया लाग्ने अनुमान गरिएको क्बलले जनाएको छ । बाँकी अन्य कामका लागि गरी कूल ३१ लाख २२ हजार खर्च हुने उहाँले जानकारी दिए । मैदान निर्माणका लागि आवश्यक पर्ने रकमका लागि सहयोग सङ्कलन गर्दै आएको उहाँको भनाइ थियो । “अहिलेसम्म रु १८ लाख जुटिसकेको छ”, अध्यक्ष खत्रीले भने, “बाँकी रकम सहयोग जुटाउने काम भइरहेको छ ।’
घाँसे मैदान निर्माणका लागि गोरखा नगरपालिका गोरखाले रु सात लाख उपलब्ध गराएको छ । त्यस्तै वडा कार्यालय र पालुङटार नगरपालिकाले एक÷एक लाख उपलब्ध गराउने जनाइएको छ । उनले भने” अन्य क्षेत्रबाट पनि सहयोग रकम जुटिरहेको छ ।
कृत्रिम घाँसे मैदान बनेसँगै युवा फुटबल प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन गर्न सहज हुने खत्रीले बताए । क्बलले जिल्लामा लामो समयदेखि युवालाई फुटबल प्रशिक्षण दिँदै आएको छ ।
प्रतिक्रिया