काठमाडौं – अधिकांश नेपाली विदेशी रेमिट्यान्समा निर्भर रहेको अवस्थामा पछिल्लो समय त्यसको आप्रवाह नै घट्दै गएको छ । १९ महिनापछि गत भदौमा रेमिट्यान्स (विप्रेषण) ०.३ प्रतिशतले घटेको थियो । त्यसपछिका महीनाहरूमा रेमिट्यान्स आप्रवाह लगातार घट्दै गएको हो ।
यस बीचमा नेपालीहरूको दशैं र तिहार जस्ता महानपर्व पनि पर्छन । यो समयमा विदेशबाट उच्च मात्रामा रेमिट्यान्स आउछ । तर, अहिले त्यसको ठीक उल्टो अर्थात विप्रेषण आप्रवाह घटेको छ । दशैंको महिना असोजसम्ममा ५ प्रतिशत र तिहार हुने महिना कात्तिकसम्ममा २.३ प्रतिशतले रेमिट्यान्स घटेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।
गत आवको कात्तिकसम्मा रू. ३ खर्ब १२ अर्ब बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । अहिले त्यो भन्दा २.३ प्रतिशत कम अर्थात ३ खर्ब ४ अर्ब रेमिट्यान्स मात्रा नेपाल भित्रिएको छ । गत आवको सो अवधीमा रेमिट्यान्स ३६.४ प्रतिशतले बढेको थियो ।
यसरी रेमिट्यान्स आउने सिजनमा नै त्यसको आप्रवाह घटेपछि बिभिन्न पक्षहरुबाट यसबारे बिभिन्न प्रश्न उठ्न पनि थालेका छन् । तर, रेमिट्यान्स घट्यो भनेर आत्ति हाल्नुपर्ने स्थिती भने नभएको राष्ट्र बैंकका अधिकारीहरू बताउछन् । गत आवमा आधार बलियो हुँदा क्षमताभन्दा बढी रेमिट्यान्स आएको र अहिले त्यो बराबरको आधार नहुँदा रेमिट्यान्स आप्रवाहको बृद्धिदर कायम हुन नसकेको राष्ट्र बैंकको भनाइ छ ।
गत बर्ष यहाँका बैंकहरूले निक्षेपमा १३ प्रतिशतसम्म व्याज दिने घोषण गरेका थिए । यस्तै, गत बर्ष अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा पनि सस्तो भएको थियो । यी यस्ता कारणले विदेशमा रहेका नेपालीले होल्ड गरेर राखेको पैसा नेपाल पठाएर फाइदा कमाउने खोजे, जसको फलस्वरुप गत बर्ष क्षमता भन्दा बढी रेमिट्यान्स आएको थियो ।
साथै, सरकारले २०७४ सालमा भन्सारमा सन्दर्भ मुल्य कायम गर्यो । त्यसको प्रभावले अनौपचारिक व्यापार औपचारिक रुपमा हुन थाल्यो । साथै, हुन्डी मार्फत हुने कारोबार पनि औपचारिक रुपमा नै हुन थालेपछि गत बर्ष रेमिट्यान्स बढेको थियो ।
तर, अहिले त्यस्तो अवस्था छैन । डलरको मुल्य पनि सस्तो हुँदै गएपछि विदेशबाट आउने पैसा स्वत घटेको छ । साथै, मलेसियाको रोजगारी बन्द भएपछि विदेश जाने कामदारको संख्या घटेपछि रेमिट्यान्स पनि घटेको हो । साथै, विश्व अर्थतन्त्रमा पनि मन्दी आएपछि यस्तो समस्या देखिएको राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया