मनसुनको कहरः पटक पटक उप्कन्छ विमानस्थलको धावनमार्ग

७ बर्ष अगाडि

काठमाडौं । नेपालको हालसम्मको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग बारम्बार उप्कने गरेको छ । हिउँद वा कम पानी पर्ने समयमा सामान्यता नउप्कने धावनमार्ग पानी परेको समयमा बढी उप्कने गरेको छ ।

मनसुन सुरु भएपछि मात्रै एक दर्जन भन्दा बढी पटक धावनमार्ग उप्किएको छ । जसका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समस्या पदैृ आएको छ ।

गत वैशाखदेखि हालसम्म विशेष गरी धावन मार्ग उप्किएको छ । जहाज अवतरण गर्ने प्रमुख बिन्दुको रुपमा रहेको कोटैश्वर तर्फको धावनमार्ग नै बढी समस्या देखिएको छ । सामान्य टालटूल गरेर मर्मत गर्ने र जहाज उडान तथा अवतरण गराउने गरिएको छ ।

तर त्यसले सधै समस्याको समाधान गर्ने अवस्था भने देखिएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावन मार्ग ममर्तका लागि ३ पटक बोलपत्र आह्वान गर्यो । तर बोलपत्रमा कोही कसैले पनि चासो देखाएनन् । फेरी पनि प्राधिकरण बोलपत्र सार्वजनिक गर्ने तयारीमा रहेको छ । सो बोलपत्रमा समेत आवेदन पर्छ वा पर्दैन भन्ने कुरको कुनै ग्यारेन्टी छैन ।

तर देशको एकमात्र विमानस्थलमा बारम्बार निम्तिएको समस्या समाधानका लागि भएका र गरिएका भनिएका सबै प्रयास नकाम सिद्ध भएका छन् ।

जहाज आकाशमा नै होल्ड गरेर धावन मार्ग मर्मत गर्नु पर्दा जहाजको इन्धन त सकिएको छ नै त्यो भन्दा बढी समस्या यात्रुमा परेको छ । यात्रुमा मानसिक समस्या बढेको देखिन्छ । यस्तै अन्तर्राष्ट्रिय उडनामा जानु पर्ने यात्रुका कनेक्टिङ फ्लाइट समेत छुटेका छन् ।

सरकारले सन् २०२० लार्य नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । तर विमानस्थलको हालत भने टालटूलमा नै सिमित देखिएको छ । टालटुले प्रवृत्तिका कारण विमानस्थलकै कारण नेपालको प्रतिष्ठा समेत अन्तर्राष्ट्रिय क्षेत्रमा खराब बन्न पुगेको छ ।

धावन मार्ग मर्मतका लागि कम्तीमा पनि एक वर्षको समय लाग्छ । विहान पाँच बजे खुल्ने विमानस्थल पछिल्लो समयमा २१ घण्टा सञ्चालनमा रहेको छ । छोटो समयमा विमानस्थल मर्मतका लागि काम गर्न इच्छुक कुनै पनि निर्माण व्इवसायी देखिएका छैनन् । निर्माण क्षेत्रमा काम गर्ने कुनै पनि सरकारी निकाय छैन ।

सरकारी निर्माण संयन्त्र नभएका कारण पनि यस्ता अत्यावश्कीय काम गर्न समस्या पर्दै आएको छ । तीन पटकको बोलपत्रमा कुनै पनि निर्माण व्यवसायीले आवेदन नदिनु पनि त्यसैको एउटा कारण हो ।

पछिल्लो पटक यही साउन १८ गते बिहान समेत धावनमार्गको कालोपत्र उप्कियो । जसका कारण  केही समय बन्द भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको उडान÷अवतरणमा समस्या पैदा भयो ।

धावनमार्गमा समस्या देखिएपछि विमानस्थलमा उडान अवतरण रोकिएको थियो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र धेरै पटक उप्किएको विमानस्थलले जनाएको छ ।

खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ । केही दिन पहिले नेपालगञ्जबाट काठमाडौँ आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सवार विमानसमेत धावनमार्ग उप्किएका कारण करीब ४५ मिनेट आकाशमै घुम्ने होल्डमा परेका थिए ।

विमानस्थलको धावनमार्ग मर्मतका लागि पटक–पटक टेण्डर भए पनि प्रक्रिया अगाडि नबढ्दा वर्षाको समयमा बढी समस्या देखिने गरेको छ ।

महाप्रबन्धक राजकुमार क्षेत्रीले सामान्य समस्या देखिनेवित्तिकै द्रुत मर्मत टोली परिचालन गरी समस्याको समाधान गरिने गरिएको बताए ।

कालोपत्र उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।

विज्ञहरुले विमानस्थलको नयाँ धावनमार्ग निर्माण गर्नुपर्ने र हाल सञ्चालनमा रहेको धावनमार्गलाई पूर्णरुपमा मर्मत गर्न सुझाव दिँदै आएका छन् । तर एकमात्र धावनमार्ग भएका कारण मर्मतमा समेत समस्या देखिने गरेको छ । धावनमार्ग पूर्णरुपमा मर्मत गर्न कम्तीमा एक वर्ष लाग्ने बताइएको छ ।

बढी उडान चाप हुने समयमा धावनमार्ग उप्किएपछि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय उडानहरु होल्ड भएका थिए । मनसुन शुरु भएपछि करीब पटकपटक धावनमार्गमा समस्या आउने गरेको छ ।

गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न नहुँदासम्म धावनमार्गमा आउने समस्याका कारण जहाज आकाशमै होल्ड गर्नुपर्ने वा अन्यत्र पठाउनुपर्ने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था कायमै रहने देखिन्छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया