भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ।
सेनाको निर्माण कार्यदलले सो करिडोरको माल्ढुङ्गा–बलेवा बाग्लुङ को १० किमी र रुद्रवेणी–अर्वेनी ९गुल्मी९ को २० किमी सडकखण्ड मंगलबार बलेवामा अयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
उक्त सडकमा अब विभागले स्तरोन्नति र कालोपत्रको कार्य अघि बढाउने छ। सो करिडोरले भारतको सुनौलीदेखि चीनको कोरला नाका जोड्ने छ। कोरला नाका सञ्चालनका लागि नेपाल र चीन सरकारबीच उच्चस्तरमा सहमति भइसकेको छ आव २०६९र०७० देखि सो करिडोरअन्तर्गत गुल्मीको पाँहदी–अर्वेनी को १२ किमी सडकखण्डका लागि पाएको जिम्मेवारीअनुसार सेनाको विकास निर्देशनालयले ‘कालीगण्डकी करिडोर निर्माण कार्यदल’ गठन गरी काम प्रारम्भ गरेको थियो ।
सेनाले गुल्मीको हर्मिचौरमा आधारशिविर खडा गरी २०७० पुस २० गतेदेखि निर्माण गरेकामा पछि गुल्मीको रिडी–पालुङखोला हुँदै बाग्लुङको मालढुङ्गासम्म ८० किमीका लागि साधारण मार्ग खोल्ने थप जिम्मेवारी पाएको थियो । सेनाले सो करिडोरमा स्तरोन्नतिको काम पनि गरिरहेको छ ।
मन्त्री ज्ञवालीले जोखिमपूर्ण विकासनिर्माणमा सेनाले जिम्मेवारी दिएको उल्लेख गर्दै निर्माण व्यवसायीलाई सबै आयोजना गुणस्तरीयरुपमा समयमै पूरा गरी समृद्ध नेपालको अभियानमा सघाउन आग्रह गरे।
डिपिआर र बोलपत्र एकसाथ
मन्त्री ज्ञवालीले ठूला आयोजनाको निर्माणमा हुने ढिलाइका लागि आगामी दिनमा वातावरणीय अध्ययन प्रतिवेदन र विस्तृत परियोजना प्रतिवेदन तयारीसँगै निर्माणका लागि बोलपत्र पनि आह्वान गर्न सकिने गरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए। बोलपत्र छनोट गर्ने समयसम्म वातावरणीय प्रतिवेदन आइसक्नुपर्ने गरी निर्णय भएकाले आयोजनामा अब ढिलाइ नहुने उनले बताए।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पाएको जिम्मेवारी समयमा नै पूरा गर्नेछ भन्दै करिडोरको बाँकी खण्डको काम आगामी असार मसान्तसम्म सकिने बताए।
प्रतिक्रिया