एक÷डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ । ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् ।
चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको वडा नं ४ सल्ले, मलबाँसे बोलुङखा क्षेत्रका विद्यालयका तल्ला तहका कक्षका विद्यार्थीको उपस्थितिको सङ्ख्या ५० प्रतिशतभन्दा बढीले घटेको रौता जनता मावि सल्लेका प्राचार्य लक्ष्मी घिमिरे बताउछन्। चिसो बढ्न थालेपछि विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था भएका कारण पनि घरमै बस्न थालेका पञ्चकन्या आधारभूत विद्यालय रौता हात्तीपाइलेका शिक्षक घनश्याम राईले बताए।
जिल्लाको तराई क्षेत्रको त्रियुगाको जोगीदह र खैजनपुर तथा चौदण्डी नगरपालिकाको जनता मावि हँडिया, सुन्दपुर मावि सिवाइ र बेलका क्षेत्रमा समेत चिसो बढेसँगै तल्ला कक्षाका विद्यार्थीको उपस्थिति न्यून हुन थालेको शिक्षक बताउँछन् । बिहान अबेलासम्म हुस्सु लाग्ने र निकै चिसो बढ्दै गएका कारण साना नानी विद्यालय जान नमान्ने र चिसोका कारण नसक्ने अवस्थासमेत रहेको चौदण्डी–३ हँडियाका कमलनारायण चौधरी बताउछन्।
अहिले ह्वात्तै चिसो बढेका कारण जिल्लाका केही विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दा पठनपाठनमा प्रभाव पर्न थालेको राष्ट्रिय जनता मावि त्रिनपा बगाहाका शिक्षक अर्जुन खड्काले बताए।
प्रतिक्रिया