बैंकका ग्राहकको बीमा सुविधामा अंकुश, अब बैंकले आफुखुसी बीमा सुविधा दिन नपाउने

६ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तिय संस्थाका ग्राहकले पाउने बीमा सुविधामा अंकुश लगाइएको छ । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ग्राहकहरुलाई बीमा सुविधा दिँदै आएका थिए । अब भने बीमा कम्पनीले तोकिएको सिमामा रहेर त्यस्ता संस्थाका ग्राहकहरूको बीमा गर्नुपर्ने भएको छ । 
बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो बीमालाई कडाई गरेको हो । हालसम्म बैंक तथा वित्तिय संस्थाहरूले बीमा कम्पनीहरुको सहकार्यमा आफ्ना ग्राहकलाई स्वास्थ्य, दुर्घटना बीमाको सुविधा दिदै आएका छन्, जसलाई बैंकासुरेन्स पनि भनिन्छ । 
बीमा समितिले बैंक तथा वित्तिय संस्था र त्यहाँका ग्राहकलाई नियमन गर्न पाउदैंन । त्यसैले समितिले बीमा कम्पनीलाई नै तोकिएको सिमा रहे यस्तो बीमा व्यवसाय गर्न निर्देशन दिएको छ, जसअनुसार अब बैंक तथा वित्तिय संस्थाले आफुखुसी ग्राहकलाई बीमा सुविधा दिन पाउने छैनन् ।  
नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तिय संस्थाका ग्राहकले एक शिर्षकमा १० लाख भन्दा बढीको बीमा सुविधा पाउने छैनन् । उनीहरूले दुर्घटना र घातक रोग बीमामा अधित्तम १०÷१० लाख भन्दा बढीको सुविधा पाउने छैनन् । यस्तै, औषधोपचार बीमामा पनि एक लाख रुपैयाँ भन्दा बढीको बीमांक बनाउन नपाइने व्यवस्था गरिएको छ । तोकिएको सिमा भन्दा बढीको मात्रामा बीमा गर्नुपर्ने भएमा बीमा कम्पनीले बीमितको जोखिमांकन गर्नुपर्ने बताइएको छ ।
यस्तै, ग्राहकले प्रस्ताव फारम भर्नुपर्ने, स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । पहिले बैंकमा खाता खोलेर पैसा जम्मा गर्दा वित्तिक्कै ग्राहकको बीमा हुन्थ्यो । अब भने ग्राहकको बीमा गर्दा आवश्यक प्रक्रिया पु¥याउनु पर्ने भएको छ । आवश्यक प्रक्रिया पु¥याएपछि बैंकले सम्बन्धीत ग्राहकलाई बीमा गराएको प्रमाणपत्र पनि प्रदान गर्नुपर्ने नयाँ व्यवस्था ल्याइएको छ । साथै, बीमा कम्पनीले पनि सम्बन्धीत वित्तिय संस्थाको नाममा मुल बीमालेख जारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, यस्तो बीमाको प्रचार प्रसार गर्दा पनि तोकिएको सिमामा रहेर गर्नुपर्ने बताइएको छ । हाल बैंकहरुले ग्राहकहरुलाई निःशुल्क बीमा सुविधा दिन्छौ भन्दै आएका छन् । यसरी प्रचार गर्दा आम मानिसमा बैंकले नै निःशुल्क बीमा गरिदिन्छ, किन बीमा कम्पनीमा जानुपर्यो भन्ने मानसिकताको विकास भएको छ । तर, त्यो ग्राहकको लागि मात्रा निःशुल्क हो,  त्यस बापत बैंक तथा वित्तिय संस्थाले बीमा कम्पनीलाई आवश्यक शुल्क तिरेका हुन्छन् । तसर्थ, अब यस्तो बीमाको प्रचार गर्दा स्वयम संस्थाले नै शुल्क तिरिदिने भनेर प्रचार गर्नुपर्ने बताइएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया