चिसो बढे्सँगै महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको अभाव भएको हुँदा विद्याथीहरु बोरा बस्नु परेको हो ।
गौशाला नगरपालिका–६ फुलकाहाको जनता आधारभूत विद्यालयका बालकक्षादेखि कक्षा २ सम्मका विद्यार्थी र गौशाला नगरपालिका–७ मनहर्वामा रहेको नेपाल राष्ट्रिय जनजाति प्राथामिक विद्यालयका शिशुकक्षादेखि कक्षा १ सम्मका विद्यार्थी भुइँमा बसी पढ्न बाध्य भएका छन । जनता अधारभूत विद्यालयका ५८ विद्यार्थी आ–आफ्ना घरबाटै बोरा ल्याएर विद्यालय आउछन् ।
कार्पेटका लागि बारम्बार नगरपालिकामा जानकारी गराउँदासमेत कहीँकतैबाट समाधानका लागि पहल नभएको विद्यालयका प्रधानाध्यापक विश्वेश्वरप्रसाद साहले बताए। प्रधानाध्यापक साहका अनुसार तत्काल बेन्च–डेक्सको व्यवस्था नभएसम्मका लागि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर सफल नभएको बताउँछन् ।
फुटेको टालीले छाएको कक्षाकोठामा अवस्था अति नै जीर्ण भए तापनि मर्मतसम्भारका लागि आफूले चाहेर पनि केही गर्न नसकेको प्रधानाध्यापकले जानकारी दिए ।
त्यस्तै नेपाल राष्ट्रिय जनजाति प्राथमिक विद्यालय मनहर्वामा शिशुकक्षामा अध्ययनरत विद्यार्थी पनि भुइँमा बसेर अध्ययन गदै आएका छन् । प्रधानाध्यापक द्रौपदीदेवी यादवका अनुसार केही विद्यार्थीका लागि कक्षाकोठामा कार्पेट ओछ्याएता पनि अपुग भएपछि बाँकी विद्यार्थी घरबाटै ल्याएको बोरामा बसी पढ्दै आएका छन् ।
यस सम्बन्धमा गौशाला नगरपालिकाका शिक्षा शाखाले अबको केही दिनमा नै त्यहाँको विद्यालयमा भौतिक पूर्वाधारका लागि व्यवस्थापन गरिने जनाएको छ । नगरपालिकाले त्यस्ता विद्यालयमा भौतिक पूर्वाधारको व्यवस्था तत्कालै गर्नुपर्ने नेपाल शिक्षक महासङ्घ गौशालाका सचिव सुमितकुमार साहले बताए। कूल ३२ सामुदायिक विद्यालय रहेको गौशाला नगरपालिकाको अधिकांश विद्यालयको भौतिक पूर्वाधारको अवस्था अत्यन्त नाजुक रहेको सचिव साहले बताए ।
प्रतिक्रिया