अमेरिकी सहयाेगमा ६५ सय जनालाई निःशुल्क कृषि तालिम हुँदै, दुई महिने तालिमका लागि प्रशिक्षक माग

६ बर्ष अगाडि

कृषि व्यवसाय विकासका लागि २५ जिल्लाका ६ हजार ६ सय जनालाई निःशुल्क तालिम सञ्चालन हुने भएको छ । 

अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को सहयोगमा  ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) – २ परियोजनाले दुई महिने तालिम सञ्चालन गर्ने भएको हो । 

तालिम प्रदेश नं. ३, ५ तथा कर्णाली र सुदुपश्चिम प्रदेशका २९६ स्थानमा सञ्चालन हुने छ । परियोजना लागू भएका मकवानपुर, काभ्र्रे, नुवाकोट,  कपिलवस्तु, पाल्पा, अर्घाखाँची, दाङ्ग, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका विभिन्न स्थानीय तहका किसानका लागि तालिम दिइने परियोजनाले जनाएको छ । 

तालिम लिएका कृषकलाई व्यवसायमा अग्रसर बनाउने गरि उक्त तालिम सञ्चालन हुने छ । 

उक्त परियोजनाले तालिमको सहजीकरणका लागि सामुदायीक प्रशिक्षक पनि मागेको छ ।

उनीहरुको काम सहभागीको छनौटका लागि सहजीकरण गर्ने, २ महिना स्थानीय स्तरमा तालिम दिने, तालिमको अघि र पछि सहभागीको परिक्षा लिने, व्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने र अनुगमन, मूल्यांकन र अध्यययनमा सहयोग तथा समन्वय गर्ने हुने छ । 

प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको, अन्य संस्थामा पूर्णकालिन कार्यरत नरहेको, व्यवसायिक कार्यमा सहजीकरण गर्न सक्ने, सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता भएको र विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका व्यक्ति हुनुपर्ने परियोजनाले जनाएको छ । 

प्रशिक्षक छनौट गर्दा सम्बन्धित वडाका व्यक्तिलाई ग्राहयता दिने पनि संस्थाले जनाएको छ । प्रशिक्षक हुन इच्छुकहरूले मंसिर २९ गतेसम्म [email protected] मा वा डिप्राेक्स नेपाल, किसान पिरयाेजनाका कुनैपनि कार्यालयमा सम्पर्क गर्न सकिने संस्थाले जनाएकाे छ । 

अमेरिकी दुतावासका अनुसार विगत पाँच वर्षदेखि सञ्चालन भएको किसान परियोजनाले नेपाली किसान र ७ सय भन्दा बढी निजी क्षेत्रका उद्यमीबीच साझेदारी गराएको छ ।

साथै किसान परियोजनाले पश्चिन नेपालका २० जिल्लाका १ लाख १८ हजारभन्दा बढी घरपरिवारलाई तालिम समेत दिएको छ । 

कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय बृद्धिमा दिगोपन ल्याउनका लागि उक्त परियोजना विनरक इन्टरनेशनलले सञ्चालन गरिरहेको छ । 

किसान परियोजनाको सफलतापछि अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत कृषिमा केन्द्रित दुई नयाँ कार्यक्रम सुरु गरेकाे छ ।  जुन फिड द फ्‍युचर कार्यक्रमअन्तर्गतको नेपालको कृषि विकास रणनीति अनुरूपका छन्।

तीमध्ये पहिलो कार्यक्रम तीन करोड २७ लाख ५० हजार अमेरिकी डलर लागतको किसान २ परियोजना रहेको छ । त्यसै गरी दोस्रो कार्यक्रम एक करोड ५० लाख अमेरिकी डलर लागतको पञ्‍चवर्षीय नेपाल बिउ तथा मल परियोजना ९एनसेफ० रहेको छ। यस परियोजनालाई अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) ले कार्यान्वयन गरेको छ। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया