‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटकीयस्थल प्रवद्र्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो ।
बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवद्र्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको समाजका अध्यक्ष स्थानीयवासी राम घिसिङले बताए । उनले भने,आउँदो भ्रमण वर्षमा पर्यटक लक्षित गर्दै अगावै बुद्धमूर्ति बनाएका हौँ ।
मूर्ति निर्माणपछि समाजले हाल प्रचारप्रसार गर्दै पर्यटकलाई घुमाउने,स्थानीय कलासंस्कृति प्रदर्शन गर्ने तयारी गर्ने, घरबास (होमस्टे) व्यवस्थापनमा लाग्ने योजना बनाएको छ । पर्यटकलाई विर्तादेउराली पुर्याउन सडक स्तरोन्नतिसँगै पुष्पलाल लोकमार्ग हुँदै जाने ट्रेकिङ रुट तयार गरिने समाजका अध्यक्ष घिसिङले बताए ।
समाजले ३२ लाखको लागतमा मूर्ति निर्माण गरेको हो । समाजले आउँदो वर्ष विर्तादेउरालीमै दृश्यावलोकन स्तम्भ र हजार सिँढी बनाउने योजना बनाएको घिसिङले बताए । उनका अनुसार बुद्धमूर्ति निर्माणपछि स्थानीय बुद्ध धर्मावलम्बीमा धर्मप्रति आस्था बढ्ने विश्वास गरिएको छ ।
गाउँपालिका अध्यक्ष दीननाथ गौतमले बुद्धमूर्ति गाउँपालिकाको पर्यटकीय सम्पत्तिका रूपमा विकसित भएको बताए । यसले भ्रमण वर्षलाई थप ऊर्जा प्रदान गर्नेछ, हामी मूर्ति भएको स्थललाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेछौँ, उनले भने । वडाध्यक्ष धनबहादुर लामाले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर लैजान मूर्ति निर्माणका सहयोग गरिएको बताए ।
मूर्तिको ३ नं प्रदेशको उद्योग पर्यटन,वन तथा वातावरणमन्त्री अरुण नेपालले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य नविना लामा,३ नं प्रदेशसभा सदस्य रत्न ढकाल,पूर्वराज्यमन्त्री सूर्यमान दोङलगायतले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन स्थानीय कलासंस्कृतिले ठूलो सहयोग गर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया