कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ ।
उनको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । आफूसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो, उनले भनिन्,गरिबीले च्यापेपछि छाक टार्न दिनभरि बालुवा छाल्नु नियति नै बन्यो । दिनभरिको मजदुरीले बिहान र बेलुकीको हातमुख जोर्न उनको लागि चुनौती भएको छ ।
महताजस्तै यतिबेला महाकाली तटीय क्षेत्रका सयौँ बासिन्दा महाकालीको बगरमा मजदूरी गरिरहेका भेटिन्छन् । असोजदेखि जेठ मसान्तसम्मका लागि हाम्रो रोजगारी स्थल भनेकै महाकालीको बगर हो । खल्लाका मनोज लावडले भने, बगरकै कमाइले बच्चाको स्कूल खर्च चलाइ रहेको छु । विदेश जानुभन्दा यहीँको बालुवामा भाग्य खोज्नु उपयुक्त ठानेँ ।
गाउँका प्रायः बेरोजगार स्थानीयबासी दैनिक बिहानदेखि साँझ अबेरसम्म बालुवा छान्न र गिटी कुट्नमै व्यस्त हुने गरेको लावडको भनाइ छ । गिट्टीको प्रतिट्रली तीन हजार र बालुवाको एक हजारमा बगरमै बिक्री गछौँ ।उनले भने, अहिले भारत जानेको सङ्ख्याभन्दा बगरमै काम गर्नेहरु बढ्दै गएको छ । आफूहरुले छानेर निकालेको बालुवा बिक्रीको समस्या भने उनीहरु बताउँछन् । ठेकेदारहरुले खोलामै आएर बालुवा किन्ने गरेका छन् ।
त्यसैगरी भीमदत्त नगरपालिका वडा नं ११,१२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ । भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताइन ।
गिट्टी र बालुवामा कडा मेहनत गरी प्राप्त आम्दानीले छोराछोरीलाई क्याम्पस पढाउन सकेकी छु, उनले भनिन्,श्रीमान भारतमा मजदुरी गर्छन । अब उनीलाई पनि घरमै फर्केर केही व्यवसायमा लगाउने सोच बनाएको छु । त्यसैगरी महाकाली नदीमा हिउँदको समयमा मजदुरी गर्न जिल्लाका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् ।
जग्गा छैन बालुवा बेचेर घरखर्च चलाउनुपर्छ । खड्काले भने, सरकारले अन्य कुनै सीपमूलक तालीम दिएको भए यहाँ बालुवासित सङ्घर्ष गर्नुपर्ने अवस्था आउने थिएन । त्यसैगरी भीमदत्त नगरपालिका–१२ का तुलसी औजी पनि हरेक दिनजसो महाकाली बगरमै मजदुरी गरिरहेको अवस्थामा भेटिनछन् ।
बगरमै गरिएको मेहनतले परिवार धानिएको छ औजीले भने,गरिबीले बगरमा मजदुरी गर्न नआएको दिन छाक टार्नै समस्या हुन्छ । बिदाको दिनमा बालबच्चा पनि उनीहरुसँगै बगरमा काम गर्न आउने गर्दछन् ।
महाकाली बगर नै हामीहरुको रोजगारीको थलो बनेको छ । नदीले बगाएर ल्याएको बालुवामा नै हामी भविष्य खोज्दैछौँ ।उनले बगरमा नौ महिना काम गर्दा ४० हजार कमाइ हुने गरेको बताए । भारतमा मजदुरी गर्न जाँदा त्यति कमाइ गर्न कठिन हुने उनको भनाइ छ ।
प्रतिक्रिया