नेपाली छात्रालाई अमेरिकामा सफलता

७ बर्ष अगाडि

काठमाडौं । एकजना नेपाली छात्रा अमेरिकामा हालै सम्पन्न अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हात पार्न सफल हुनुभएको छ । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी सुश्री एदा रिजाल यो सफलता हासिल गर्न सफल भएकी हुन् । अन्य दुईजना साथीहरूको टिमले अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हासिल गरी उनीहरुले अमेरिकी डलर १५ हजारसमेत हात पारेका छन् । 
नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठका अनुसार ती विद्यार्थीले उक्त प्रतियोगितामा नेपालको मात्र नभई दक्षिण पूर्व एसिया क्षेत्रको नै प्रतिनिधित्व गरेका थिए । मलेसियामा भएको क्षेत्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विश्वस्तरको उक्त प्रतियोगितामा भाग लिने मौका ती नेपाली विद्यार्थीहरूले पाएको कलेजका प्राचार्य प्राडा श्रेष्ठले जानकारी गराए । 
प्रतियोगितामा विभिन्न देशका ४९ टिमले भाग लिएको जनाइएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुनुले नेपाल तथा दक्षिण पूर्व एसिया क्षेत्रले नै गर्व गर्ने मौका पाएको छ । अर्जुन दृष्टि लगाएपछि स्रोत साधनको अभाव केवल एक बहाना मात्र हुन्छ भन्ने कुरा ती अव्वल दर्जाका विद्यार्थीले प्रमाणित गरेर देखाइदिएको कलेजका प्राचार्य प्राडा श्रेष्ठले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया