जिल्लामा पछिल्लो समय लोकसंस्कृति क्रमिक रुपमा लोप हुँदै जान थालेकाले केआइसिंह गाउँपालिकाले संरक्षण अभियान थालनी गरेको छ ।
पुराना लोकसंस्कृति संरक्षण,प्रवद्र्धन र विकास गर्ने उद्देश्यले गाउपालिकाले आफ्नो गाउँपालिका अन्तर्गत वडा नम्बर ५ रानागाउँमा १५ दिने परम्परागत लोकसंस्कृति संरक्षण तथा विकास तालिम आयोजनासमेत गरेको छ । संस्कृति संरक्षणका साथ व्यावसायिक बनाउन उक्त तालीम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए ।
जिल्लामा पछिल्लो समय भित्रिएका आधुनिक बाजा तथा आधुनिक संस्कृतिका कारण डोटेली भाषा,बाजा र संस्कृति लोप हुँदै गएको गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष रामचन्द्र राणाले बताए । गाउँपालिकाले जिल्लामा विशेष गरी दलित जातिले मात्रै परम्परागत रुपमा अंँगाल्दै आएको हुड्के नाच, पञ्चैबाजा र नौमतीलाई व्यावसायिक रुपमा अघि बढाई स्वरोजगारमुखी बनाउन संरक्षण तथा लगानी गर्न थालेको छ ।
सो गाउँपालिकाको वडा नं ५ स्थित रानागाउँमा रहेका दलित परिवारले अंँगाल्दै आएको परम्परागत हुड्के नाच तथा पञ्चैबाजालाई व्यावसायिक बनाउन वडा कार्यालयले तालीम आयोजना गरेको हो । तालीममा १५ दलित युवाको सहभागिता छ । तालीमका लागि इलामबाट दुई प्रशिक्षक झिकाइएको छ ।
बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुुस्ताले पञ्चै तथा नौमती बाजा अँगाल्न नखोज्दा यसको महत्व घट्दै गई लोप हुने अवस्थामा पुगेको गाउँपालिका फलेडीका पञ्चेबाजा बजाउने नाइके हरि दमाईँले बताए । दुई दमाहा,दुई ट्याम्को,नरसिंहा,सनाही,मजुरा,झ्यालीसँंगै राखेर बाजा मिलाएर कम्तीमा पनि १०–११ जनाको समूहले नौमती तथा पञ्चैबाजा बजाउँछन् ।
उक्त बाजा बजाउनेहरुले विगतमा एक ठाउँमा बजाएको कम्तीमा पनि ६० देखि ७० हजारसम्म लिने गरेका थिए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, डडेल्धुरा,अछाम,बझाङ,दार्चुला,बाजुरा र डोटीका गाउँघरमा कुनै शुभकार्य हुनासाथ बजाइने उक्त बाजा आधुनिक बाजा भित्रिएका कारण हिजोआज बिरलै सुन्न पाइन्छ । प्रायःगरी यहाँको पहाडी क्षेत्रमा यो बाजा लोप हुँदै गइरहेको छ ।
प्रतिक्रिया