वारिपारि भीरपाखा र अग्ला पहाड छन् । त्यही बीचमा उर्वर भूमि त छ तर त्यस भूमिमा उत्पादन गरिएका कृषि उपज बजारमा लैजान सडक र सवारीसाधनको अभावमा किसान निराश हुनुपरेको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका–९ बरेखानीका किसान अधिकाशं गाउँ,बस्ती र टोलमा सडकको पहुँच पुग्दा पनि यस्तो समस्या भोग्न विवश छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरु गुनासो गर्छन् ।
उत्पादन भएको कृषि उपज बजार लैजानका लागि यातायातको पहुँच नहुँदा थोरै मात्र उत्पादन गर्न बाध्य भएको बरेखानीका कृषक मित्रलाल गौतमले बताउँछन् । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभए पनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको छैन । उत्पादित कृषि उपज आफैँ बोकेर एक डेढघण्टाको पैदल यात्राबाट बजारमा पु¥याउने गरेको गौतमको भनाइ छ ।
गौतमका अनुसार बजार पुर्याउन नसक्दा उत्पादन भएको तरकारी बारीमै कुहिने गरेको छ । थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुनेभएकाले बजार पुर्याउन नसक्दा तरकारी बारीमा कुहिएर जाँदा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौँ, उनले भन्ने । बरेखानी गाउँमा पहिले २० घर थिए ।
राज्यको उपेक्षा,अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै गएपछि अहिले आठ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँको रूपमा समेत चिनिने गरिएको छ । गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ,अर्का कृषक चन्द्रमणी शर्माले भन्ने,बोकेर लान धेरै सकिन्न,धेरै उत्पादन गरेर कुवाउनुभन्दा थोरै उत्पादन गर्छौँ ।
नगरपालिका भए पनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । विसं २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडि बन्द भएको छ । पैदलयात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ ।
बरेखानीका आठ घरपरिवारलाई अहिले काउली,बन्दा,अदुवा,गाँजर,मुला, गोलभेँडा उत्पादन भए पनि बजार नपाउँदा समस्या भएको छ । बरेखानीका प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिँदै आएको छ । बजार पठाउन सडक भए यहाँका किसानले वार्षिक लाखौँ आम्दानी गर्ने कृषक गौतमले बताए ।
सडक छैन, डोकोमा बोकेर बजार लैजान कतिनै सम्भव हुन्छ र ?,गौतमले भन्ने । सडकको सुविधा भए बसाइँसराइ गर्न नपर्ने गरी बाँकी बाँझो जग्गामा पनि व्यावसायिकरूपमा खेतीबाली लगाउने सोच रहेको स्थानीय किसान बताउँछन् ।
बर्सेनि सडक पुर्याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए । बर्सेनि सडकमा लगानी गरेका छौँ,उनले भन्ने,नमिलेको भू–बनोटका कारण सडकको पहुँच सहज हिसाबले पुर्याउन कठिन भएको छ, हामी प्रयासरत छौँ ।
थापाका अनुसार गत वर्षमात्रै सडक विस्तारका लागि नगरपालिकाले सात लाख बजेट विनियोजन गरे पनि चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको थियो । प्रदेश तथा केन्द्रीय सरकारले ठूलै बजेट विनियोजन नगरेसम्म सडक पुर्याउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया