‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी

६ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा आयोजित दुईदिने ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्धारा बिरामी जाँच,परामर्श,गर्भवती महिलाका लागि भिडियो एक्सरे,प्रजनन स्वास्थ्य, प्रयोगशाला तथा निःशुल्क औषधि वितरणलगायतको सेवा प्रदान गरेको छ ।

कार्यक्रमबाट महिला २९५,पुरुष १२३ लाई सेवा प्रदान गरिएको डा.कपिल जोशीले बताए । यसमध्ये ४१ को रगत परीक्षण गर्दा १५ मा उच्च रक्तचाप,छ जनामा मधुमेह देखिएको उनले बताए । भिडियो एक्सरेद्वारा गर्भवती जाँचसमेत गरिनुको साथै उपचारका लागि पुगेका सबैलाई निःशुल्करूपमा औषधि वितरण गरिएको छ ।

उपचारका लागि पुगेकामध्ये अधिकांशमा श्वासप्रश्वासको समस्या देखिएको छ डा.जोशीले भन्ने,त्यसपछि छालारोग, बालबालिकालाई मौसमी ज्वरो र वृद्धवृद्धामा मधुमेह र उच्च रक्तचापको समस्या देखापरेको छ । मातृशिशु मृत्यृदर घटाउन र गर्भवतीको अवस्था थाहा पाउनका लागि जिल्लामै पहिलोपटक गाउँमै भिडियो एक्सरे सेवासमेत सञ्चालन गरिएको कार्यक्रमका प्रमुख डा.जोशीले बताए ।

आर्थिक अवस्था कमजोर भएका र विपन्नताका कारण टाढाको स्वास्थ्य संस्थामा उपचार गर्न नपाएका बासिन्दाले घरदैलोमै सेवा पाएका छन्,स्थानीयवासी जनकलाल डगौराले भन्ने,चिकित्सकीय सेवा गाउँमै पाउँदा सरकार आएको अनुभूति भएको छ । अपाङ्गता भएका व्यक्ति,दीर्धरोगी र ज्येष्ठ नागरिक कार्यक्रमबाट बढी लाभान्वित भएको उनले बताए ।

सरकारले यस्ता जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम क्षणिकरूपमा नभई सधैँका लागि पुर्याउनुपर्ने उनले बताए । वडाध्यक्ष बहादुर महराले सञ्चालन भएको दुईदिने कार्यक्रमबाट वडा क्षेत्रका लक्षित वर्गले सेवा पाएको बताए । उपचार कार्यक्रममा तीन चिकित्सकले सेवा प्रदान गरेको थिए ।       
 

६ बर्ष अगाडि

प्रतिक्रिया