चालु आर्थिक वर्ष २०७६ /७७ को चौथो महिना ( साउन–कात्तिक ) मा पनि आयात घटेको छ । वैदेशिक व्यापारको असन्तुलनको मारमा परेको नेपाली अर्थतन्त्रका लागी यो सुखद संकेत हो ।
भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.९२ प्रतिशतले आयात घटेको छ । अघिल्लो आवको पहिलो चार महिनामा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो जबकी चालु आवको कात्तिकसम्म यो घटेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
चार महिनाको अवधिमा निर्यातको वृद्धिदर मा पनि सुधार देखिएको छ । गत आवको पहिलो चार महिनामा नेपालले २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकामा अहिले बढेर वस्तु ३६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । निर्यातमा २३.९० प्रतिशतले बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
चार महिनामा कूल वैदेशिक व्यापारमा ९२.५ प्रतिशत आयातको हिस्सा रहेको छ भने ७.५ प्रतिशत निर्यातको हिस्सा रहेको छ । गत आवमा आयातको हिस्सा ९४.०३ र निर्यातको हिस्सा मात्र ५.७ प्रतिशत रहेको थियो । यस वर्ष निर्यातको हिस्सा कूल वैदेशिक व्यापारमा ३०.६३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
आयात घटेपछि कूल वैदेशिक व्यापारसमेत ओरालो लागेको छ । तथ्यांकअनुसार चार महिनामा कूल ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको यसै अवधिमा करिब ५ खर्ब १३ अर्ब रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । यस वर्ष ५.१६ प्रतिशतले वैदेशिक व्यापार घटेको तथ्यांकले देखाएको छ । आर्थिक बर्षको चौमासीकमा वैदेशिक व्यापार घटेर करिब ४ खर्ब ८६ अर्ब पुगेको छ ।
प्रतिक्रिया