नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरू बनाउने ३ जनालाई काठमाडौंको विभिन्न स्थानको फोटो स्टुडियोबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भइ सामाखुशी बस्ने ३४ वर्षीय सविन कुमार तोलाङ्गी, चितवन रत्ननगर -१६ पिठुवा घरभइ सिनामंगल बस्ने स्टार डिजिटल फोटो स्टुडियोका संचालक ३४ वर्षीय अमृत सुर्खेती र धादिङ निलकण्ड नगरपालिका-९ घर भएका काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने दुवाडी डिजिटल फोटो स्टुडियोका संचालक २६ वर्षीय मधु सुदन दवाडी रहेका छन् ।
नक्कली सरकारी कागजातहरू, शैक्षिक योग्यताको प्रमाणपत्रहरू, सवारी चालक अनुमतीपत्रहरू लगायतका सरकारी कागजातहरू किर्ते रुपमा बनाई सर्वसाधारणबाट रकम असुल गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई विभिन्न समानहरु सहित पक्राउ गरेको हो ।
उनीहरुबाट विभिन्न विद्यालयहरूको जिल्लास्तरीय परिक्षाकाे मार्कसिट तथा शैक्षिक प्रमाणपत्रहरू, दशजाेड दुइको 'एकेडेमिक ट्रान्सक्रिप्ट', प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेटहरू विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्रहरू, काठमाडौं महानगरपालिकाको सहिछाप गरेको खाली लेटरप्याड, वडा कार्यालयको सिफारिसपत्र, पार्टी कार्यालयहरूका लेटरप्याडहरूमा लेखिएका पत्रहरू, बैंक स्टेटमेण्ट, मेडिकल रिपोर्ट, स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेकाे छ ।
त्यसैगरी बिशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाणपत्र, सशस्त्र प्रहरी बल बंगलामुखी बिशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हातहतियार तालिम, नेपाली सेनाले प्रदान गर्ने सिफारिस पत्र, विभिन्न महानगरीय प्रहरी वृत्तहरूको लेटरप्याड तथा सिफारिस पत्रहरू पनि प्रहरीले बरामद गरेकाे छ ।
पक्राउ परेकाहरुलाई लिखत सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को २७६ (३ को ग) अनुसार साे कसुर गर्नेलाइ ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
यो कारवाही अभियान जारी रहेकोले यस्तो गैरकानूनी कार्य गर्नेलाई मात्र नभई गर्न लगाउनेलाई पनि कारवाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया