चीन व्यापार विस्तारका लागी नेपाल उपयुक्त हुनेः महत

६ बर्ष अगाडि

पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरणले चिनियाँ उद्योग स्थापना तथा सञ्चालनका लागि नेपाल उर्वर भूमि बन्न सक्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल–चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री महतले श्रमिकलाई तिर्नुपर्ने महँगो ज्यालाका कारण अब नेपाल र नेपाली श्रमिक विकल्प बन्नसक्ने बताएका हुन् । 

उनले भने, ‘जब जब देश विकासको बाटोतिर अगाडि बढ्छ, तब श्रमिकको तलब र भत्तामा बढी रकम खर्च गर्नुपर्ने हुन्छ । त्यसकारण विकसित मुलुकमा उद्योग सञ्चालन गर्दा लागत मूल्य बढी पर्न जान्छ । त्यसकारण विकसित देशले आफ्ना उद्योगहरु अल्पविकसित वा विकासोन्मुख देशमा खोल्ने गर्छन् । त्यसकारण चिनियाँ उद्योग सञ्चालनका लागि नेपाल एउटा उर्वर भूमि बन्न सक्छ ।’

चिनियाँ उद्योग सञ्चालनका लागि पनि नेपाल सही गन्तव्य भएको र लगानीका लागि अहिले उच्चतम समय रहेको पनि पूर्वअर्थमन्त्री महतले बताए । 

उनले भने ‘उद्योग क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ उद्योग र कम्पनीलाई म आग्रह गर्छु । नेपालमा लगानीको वातावरण राम्रो छ । यसले दुई देशको सम्बन्ध पनि अझै राम्रो बनाउँछ ।’

चीनको व्यापार विस्तारका लागि नेपाल उपयुक्त मार्ग हुने पनि महतले बताए । 

उनले भने ‘अब नेपालमा राजमार्गहरुको विस्तार गर्नुपर्ने बेला भएको छ । नेपालमा राजमार्गको विस्तार हुन सके नेपालको बाटो हुँदै दक्षिण एसियामा व्यापार गर्न सकिन्छ र त्यसका लागि मिडियाले भूमिका खेल्न सक्छ ।’
 

६ बर्ष अगाडि

प्रतिक्रिया