‘मेडिकल कलेजलाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान हुँदैन्’
लगातार संसद अवरुद्ध गरे संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ : प्रमुख सचेतक गुरुङ
‘डाक्टर गोविन्द केसीको मागमा सहमतिको विन्दु खोज्छौं’
काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भोलि बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘अहिले अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी पक्षबीच वार्ता चलिरहेको छ। अहिलेसम्म प्राप्त सूचना अनुसार आज सहमति हुने सम्भावना छ। डाक्टर केसीका मागहरु सकारात्मक छन्। यी मागहरु पूरा गर्नुपर्छ भनेर हामीले दबाब दिएका हौं।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले डाक्टर केसीले उठाएका मागहरु जायज रहेको बताए । उनले भने,‘उहाँले उठाएका मागहरु समाजवादी हुँ भन्नेहरुको लागि र नेपाली विद्यार्थीहरु जो सक्षम र मेधावी छन्, तिनीहरुको हितमा छ। शुलभ तरिकाले चिकित्सा शिक्षा पाउनुपर्ने उहाँको माग छ। सरकारले उहाँलाई जुम्लाबाट जबरजस्ती उठाएर काठमाडौं ल्यायो। काठमाडौं ल्याएकोपनि आज हप्ता दिन बितिसक्यो, उहाँको उपचार हुनुपर्छ । यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा नेता खड्काले डाक्टर केसीले उठाएका मागहरुमा चिकित्सा शिक्षासम्बन्धी आधारभुत समस्याहरु उल्लेख रहेकोले ती सबै समाधान हुनुपर्नेमा जोड दिए । उनले भने,‘आजको वार्ता सकारात्मक रुपमा टुँग्गियोस् र सामाजिक न्यायमा आधारित शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ ।
अघिल्लो सरकारको पालामा चिकित्सा शिक्षा अध्यादेश सहमतिमै आएको स्मरण गराउँदै नेता खड्काले भने,‘डाक्टर केसीले उठाएका मागहरु जायज भएकोले नै हामीले उहाँलाई सहयोग र समर्थन गरेका हौं । उहाँका मागहरु सम्बोधन गर्नको लागि अघिल्लो सरकारले दलहरुबीचको सहमतिमा अध्यादेश ल्याएको थियो । तर त्यो अध्यादेशलाई अहिलेको सरकारले तोडमोड गर्यो, अध्यादेशमा उल्लेख भएका कतिपय प्रावधानहरु नै परिवर्तन गरिएको छ। सरकारले अध्यादेशको मुल मर्म विपरित मेडिकल कलेज सञ्चालकहरुको हित हुनगेरि विद्येयक ल्यायो । त्यसैले कांग्रेस विरोधमा उत्रिएका हौं ।’ विद्येयकमा आवश्यक संशोधन गर्ने सुनिश्चितता सरकारबाट आए अहिलेको समस्याको निकास निस्किने उनको विश्वास छ ।
मेडिकल कलेजलाई राष्ट्रियकरण गरेर समस्याको समाधान नहुने उनको दाबी छ । उनले भने,‘निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान हुँदैन। यसले आर्थिक दायित्व धेरै बढाउँछ । सरकारी हस्तक्षेप हुन्छ । गुणस्तरीय शिक्षा प्रदान हुँदैन । आर्थिक अनियमितता धेरै हुन्छ । बरु विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो खोलेर स्वायत्तता प्रदान गर्नुपर्छ । लगानीकर्ताहरुलाई पनि यसैमा सहभागिता गराउनुपर्छ । सरकार र निजी क्षेत्र दुवैको सहकार्यमा सञ्चालन गर्नुपर्छ । निजी मेडिकल कलेजलाई सरकारको पूर्ण स्वामित्वमा ल्याउनुहुँदैन ।’
सरकारले चितवनमा श्रमिकहरुमाथि गोली चलाएको, कर्णालीमा स्वास्थ्यकर्मी र विद्यार्थीमाथि बल प्रयोग गरेको र तरुण दलको विरोध जुलुसमा पनि बल प्रयोग गरेको आरोप लगाउँदै नेता खड्काले सरकारलाई दुई तिहाईको दम्भ बढि भएको बताए । उनले भने,‘सरकारले दमनको राजनीति गर्यो । दुई तिहाईको दम्भले प्रधानमन्त्री ओलीले भनेजस्तो शान्ति, स्थायित्व, समृद्धि हाँसिल हुँदैन्।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेपाली कांग्रेसजस्तो लामो लोकतान्त्रिक अभ्यास गरेर आएको पार्टीले लगातार संसद अवरुद्ध गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने बताएका छन् । उनले भने,‘लगातार संसद अवरुद्ध गरेर संसदीय व्यवस्थामा असफल मुलुकको रुपमा परिभाषित गर्न दिनुहुँदैन्।’
गुरुङले भोलि बस्ने संसद बैठक सूचारु हुने वा नहुने कुरा प्रमुख प्रतिपक्षी दल कांग्रेसमै निर्भर रहने सुनाए । ‘संसद सञ्चालन गर्नुपर्छ’ गुरुङले थपे,‘प्रक्रियालाई अड्काएर राख्नुहुँदैन । बरु अन्तर्वस्तुमा विमति हुन सक्छ । यसको लागि त छलफलबाट सहमति खोज्नुपर्छ।’
अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा हुनुपर्ने बताउँदै उनले भने,‘उहाँले उठाएका कतिपय विषयहरु राम्रा छन् । तर उहाँले भनेजस्तो विद्येयकमा हुबहु लागु गर्न सकिँदैन । सहमति र सम्वादमार्फत निकास खोज्नुपर्छ । निषेधात्मक चिन्तन पाल्नुहुँदैन । सम्वादमार्फत सहमतिको विन्दु खोज्नुपर्छ। यसको लागि सरकारले गम्भिर पहल गरिरहेको छ ।’
डाक्टर केसीले उठाएका मागहरु विद्येयकले नै सम्बोधन गरिसकेकोले बाँकी विषयहरुपनि छलफलमार्फत टुँगोमा पुग्ने उनको विश्वास छ । उनले भने,‘अब सहमति टाढा छैन । हामी सहमतिमा पुग्छौं ।’
प्रतिक्रिया