३७ जिल्लामा रातिदेखि मौन अवधि, आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह

६ बर्ष अगाडि

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकरको प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदमा मंसिर १४ गते हुने उपनिर्वाचन पूर्वतयारी र व्यवस्थापनबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानून र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरे ।

उपनिर्वाचनलाई उत्साह र उत्सवकका रुपमा लिई आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दै उनले भने, ‘निर्वाचन जति स्वच्छ, स्वतन्त्र र निष्पक्ष, विश्वासनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ भन्नेमा आयोग विश्वस्त छ ।’

उपनिर्वाचनको मौनअवधि बुधवारै राति १२ बजेदेखि शुरू हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १५ दिन तथा स्थानीय तहको विभिन्न पदका उम्मेदवारका लागि १० दिन प्रचारप्रसारको अवधि तोकिएको थियो । मतदान हुनुभन्दा ४८  घण्टाअघिबाट मौनअवधि शुरू हुने कानूनी व्यवस्था रहेको छ । 

मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका लागि खटिएको स्थानमा पुगिसकेको पनि आयोगले जानकारी दिएको छ । उपनिर्वाचन प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिका प्रमुख १, गाँउपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ पद चयनका लागि हुन लागेको हो । उपनिर्वाचनका लागि ४ लाख ५४ हजार ११४ मतदाता कायम रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया