कस्ले दिन्छ बैंकबाट लुटिएको ग्राहकको पैसा, यस्तो भन्छ राष्ट्र बैंक

६ बर्ष अगाडि

काठमाडौं – एक गिरोहले जनता बैंकका खातावाल गोपालमान श्रेष्ठको खाताबाट आइतबार  १९ लाख ९९ हजार चोरी गर्यो । उनीहरुले जनता बैंकको ग्वार्काे शाखाबाट गोपालमानको नाममा नयाँ चेकबुक लिएर नयाँ बानेश्वर र न्यूरोड शाखाबाट ३ पटकमा सो बराबरको रकम झिकेका थिए । साथै, त्यही गिरोहले मुक्तिनाथ विकासबाट पनि १० लाख रुपैयाँ सोही बिधिबाट चोरेको खुलेको छ । तर, यसबारे विस्तृत विवरण आइसकेको छैन ।
महानगरीय प्रहरी परिसर टेकुले उक्त समूहका ६ जनालाई सोमवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनीष घिमिरे, अञ्जान बराल, बागलुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे छन् । 
प्रहरीले उनीहरूलाई बैंकिङ कसुरमा मुद्दा बनाएर अनुसन्धान अगाडि बढाएको छ । साथै, अनुसन्धानका लागि उच्च अदालत पाटनबाट ७ दिनको म्याद पनि लिएको छ । 
प्रहरीले उनीहरूबाट रू. १८ लाख ५० हजार सहित अन्य थुप्रै कागजपत्र बरामद गरिसकेको पनि छ । तर, गोपालमानको खाताबाट रू. १९ लाख ९९ हजार चोरिएको थियो । साथै, मुक्तिनाथ विकास बैंकबाट रू. १० लाख चोरिएको भनिए पनि त्यो रकम परेको छैन ।
यतिबेला, एउटा प्रश्न उठेको छ, पिडितको पैसा कसले दिन्छ ? प्रहरीले बरामद गरेको पैसा मुद्दा नटुंगिएसम्म दिन मिल्दैन, तसर्थ यस अवस्थामा पिडित पक्ष थप मर्कामा पर्ने देखिन्छ ।
हामीले यही प्रश्न नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलालाई सोध्यौं ? उनले बुधबार यही बिषयमा राष्ट्र बैंकमा पत्रकार भेटघाट कार्यक्रम राखेका थिए ।
तर, उनले यस बिषयमा आत्तिनु नपर्ने बताउछन् । उनले भने, ‘यसमा स्वयम बैंक कति जिम्मेवारी हुन्छ भन्ने महत्त्वपूर्ण कुरा हो । तर, लगभग शतप्रतिशत रकम नै बरामद भएको छ । अभियुक्तहरू पनि पक्राउ परेका छन् । तसर्थ आत्तिनुपर्ने बिषय छैन । पिडितले छिट्टै नै सबै पैसा पाउनेछन् । ढिलो गर्न दिदैनौं ।’
यस्तै, उनले अब सञ्चालन जोखिमलाई न्यूनिकरण बैंकहरू गम्भिर हुनुपर्ने बताए । उनले भने, ‘अनधिकृत रूपमा अनधिकृत व्यक्तिको हातमा चेकबुक लगायतका डकुमेन्ट कसरी पुग्यो । यो गम्भिर बिषय हो । यसमा चनाखो भएर अनुसन्धान गर्नुपर्छ । हाम्रो विशेषटोली पनि सम्बन्धीत बैंकहरुमा अुसन्धान गर्दैछ । सायद, हामी पनि केही दिनमा निष्कर्षमा पुग्नेछौं ।’
 

बरामद सामग्रीः 

  • रू. १८ लाख ५० हजार नगद
  • विभिन्न व्यक्तिको नाममा काटिएको ३२९ चेक 
  • २ हजार व्यक्तिको नागरिकताको फोटोकपी
  • जनताको १६, एभरेष्टको २०, माछापुछ«ेको १७, मुक्तिनाथ विकासको ४१, ज्योति विकासको १ थान र एनआईसी एशिया बैंकको ६८ थान चेकबुक
  • खाता खोल्न तयार गरिएको ३०० फर्म, 
  • ८९ भिषा कार्ड, 
  • विभिन्न व्यक्तिको ८२५ पासपोर्ट साइज फोटो
  • १९५ जनाको बैंक स्टेटमेन्ट 
  • २ बोरा जति बैंकसँग सम्बन्धी कागजपत्र 

प्रहरीले अभियुक्त माथि यतिका कागजपत्र हुनुलाई शंका रूपमा हेरेको छ । साथै, प्रहरीले स्वयम बैंकहरुलाई अनुसन्धानको निशानामा राखेको छ । महानगरिय प्रहरी परिसरका एक प्रहरीले भने, ‘हेर्दा सामान्य देखिने व्यत्तिहरुमा यतिका डकुमेन्ट कसरी आयो, त्यो अचम्मको बिषय छ । हामीले यस बिषयलाई गम्भिर रुपमा अनुसन्धान गर्दैछौं । त्यो क्रममा बैंकका कर्मचारी माथि पनि सोधपुछ हुन सक्छ।’
प्रहरीले अनुसन्धानका लागि आज ७ बैंकलाई पत्रचार गर्दैछ । यसमा बिषयमा बैंकहरुको लापारवाही देखिएको प्रहरी भनाइ छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया