काठमाडौं– राजधानीको गोंगवुस्थित राप्ती पाहुनाघरबाट नेपाल प्रहरीको हटलाइन नम्बर ‘१००’मा बुधबार राती एउटा महत्वपूर्ण सुचना आयो, ‘तीनजना डाकाहरुले सुन चादी व्यवसायीको एक किलो सुन लुटेर भागे ।’
संवेदनशील सूचना पछ्याउँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ‘एसएसपी’ विश्वराज पोखरेल घटनास्थलतर्फ लागे । राप्ती पाहुनाघरबाट सुन लुटिएको सूचना दिने व्यक्ति थिए, दाङका खड्ग प्रसाद सुनुवार । सुनचाँदी व्यवसायी संघ दाङबाट ६० भन्दा बढी सुनचाँदी व्यवसायीको पैसा लिएर सुन किन्न काठमाडौं आएका सुनुवारले बुधवार न्युरोडस्थित सिद्धार्थ बैंकबाट सुन खरिद गरेका थिए ।
बैंकबाट खरिद गरिएको सुन लिएर पाहुनाघरमा पुगेपछि उनले प्रहरीलाई खबर गरेका थिए । ‘अनुसन्धान गर्दै जाँदा प्रहरीलाई गलत सुचना दिएको खुल्न आएको छ’ काठमाडौं प्रहरी प्रमुख पोखरेलले भने, ‘बिजी मल स्थित एक सुन पसलेलाई खड्गप्रसाद सुनुवारले सुन राख्न दिएको खुल्न आएको छ ।’
प्रहरीले बिजी मलमा राखिएको उक्त सुन सहित खड्ग सुनुवार, उनको ज्वाई नाता पर्ने बचन सुनुवार लगायत पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
खड्ग प्रसाद सुनुवार सुन लुटिएको नाटक गरेर आफैंले पचाउन खोजेको प्रहरीले जनाएको छ । सुन लुटिएको प्रमाण भन्दै प्रहरीलाई झुक्याउन उनले खुकुरी समेत खरिद गरेर होटलमा राखेको बताईएको छ । सुन लुटपाट भएको भन्दै एक किलो सुन पचाउनका लागी उनले ३ महिनाअघि देखि आफ्नो भाइलाई सोही होटलको २०२ नम्बरको कोठामा राखेका थिए । ‘तीन महिनादेखि आफ्नो भाइ बसेको कोठामा नै खड्गप्रसादले लुटिएको नाटक गरेका रहेछन्’ एसएसपी पोखरेल भन्छन्, ‘घट्ना संलग्न हरुबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रतिक्रिया