भारतीय राजदूतावासको पहलमा पशुपति क्षेत्र विकास कोषलाई विद्युतिय टेम्पो हस्तान्तरण

६ बर्ष अगाडि

पशुपति क्षेत्रको सवारी निषेधित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा, अशक्त एवं थकित भक्तजनका लागि दुईवटा विद्युतीय परिवहन थप गरिएको छ । भारतीय राजदूतावासको पहलमा भारतीय महिला सङ्घले दुई विद्युतीय टेम्पो पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

भारतका राजदूत मञ्जीवसिंह पुरीको उपस्थितिमा कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई सङ्घकी अध्यक्ष नम्रता पुरीले आज टेम्पो हस्तान्तरण गरेका थिए ।कार्यक्रममा सदस्यसचिव ढकालले मैत्रीपूर्ण सहयोगले मन्दिर दर्शनमा आउने अशक्त दर्शनार्थीलाई सहयोग पुग्ने बताए । सो परिवहन वनकालीबाट जुत्ता चप्पल कक्षसम्म सञ्चालन हुनेछ । कोषमा यसअघि पनि दुई विद्युतीय टेम्पो सञ्चालनमा थिए । लक्ष्मी बैंकले यसअघिका दुई टेम्पो कोषलाई सहयोगस्वरुप हस्तान्तरण गरेको थियो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कम्तीमा पाँचवटा विद्युतीय परिवहन सवारी निषेधित क्षेत्रमा सञ्चालनमा ल्याउन कोषलाई निर्देशन दिएको थियो । दुई परिवहन कोष आफैँले थप्ने तयारी गरिरहेको प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए। 

परिवहनमा निःशुल्क यात्रा गराइने कोषले जनाएको छ । एउटा विद्युतीय परिवहन पशुपतिको भ्रमणमा आएका आन्तरिक एवं बाह्य पर्यटकलाई गुह्येश्वरी लैजान उपयोग गरिने छ । पशुपति आएका पर्यटकलाई गुह्येश्वरी लैजान कोषले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया