पहिलो पटक पोखरामा सागका खेल सञ्चालन हुदाँ पोखरा बाँसी उत्साहित

६ बर्ष अगाडि

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हालै गरेको भ्रमणबाट प्राप्त विश्वव्यापकतापछि सुन्दर नगरी पोखरा यतिखेर आसन्न दक्षिण एशियाली खेलकूद(साग)को तीव्र प्रतिक्षामा छ

सागका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी, अफिसियल तथा अन्य पर्यटकका लागि यहाँका हिमाल, तालतलैया स्वागतको पर्खाइमा छन् । देशको राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा सागका आठ खेल सञ्चालन हुने भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका हुन्

साग सञ्चालनसँगै पोखरा खेल पर्यटनको पनि उत्तिकै सम्भावनायुक्त क्षेत्रका रुपमा स्थापित बन्ने र यस ठाउँमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन हुने गरी ‘माइस टुरिजम’को विकास गर्न सकिने भएको छ ।

पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा पोखरा प्राकृतिकरुपमा आफैँमा सुन्दर शहर भएकाले सागअन्तर्गतको केही खेल यहाँ सञ्चालन हुनु महत्वपूर्ण अवसर रहेको बताउँछन् । सागलाई लक्षित गरी आउने पर्यटकको स्वागतका लागि पोखरेली आतुर भएको बताउँदै उनले आफूहरूले यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएको बताए ।  

सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएको र सन् १९९९ मा तेस्रो संस्करणको साग नेपालमा भएको थियो । त्यसयता दुई दशकपछि १३ औँ संस्करणको साग आयोजना गर्ने अवसर यस पटक जुरेको हो । यस संस्करणको सागका केही खेल पहिलोपटक राजधानी बाहिर पनि खेलाउन लागिएको छ । कूल २६ खेलमध्ये आठ वटा पोखरा र एउटा खेल जनकपुरमा हुँदैछ । 

प्रतियोगितामा सहभागिताका लागि दक्षिण एशियाली राष्ट्रबाट ठूलो सङ्ख्यामा खेलाडी,अफिसियल,विदेशी पाहुना तथा सञ्चारकर्मीसमेत आउने भएकाले यसबाट पोखराको पर्यटनको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रवद्र्धन हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

यही मङ्सिर १५ गतेदेखि साग हुँदैछ ।पहिलोपटक पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनाले यहाँको अर्थतन्त्र चलायमान बनाउनुका साथै पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनेछ, उनले भन्ने ।

पोखरामा सञ्चालन हुने आठ खेलका लागि नेपालसहित सात राष्ट्रबाट ८४० खेलाडी तथा अफिसियलको पोखरामा आगमन हुने भएको छ । साग लक्षित पूर्वाधार निर्माण लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए।

महिला क्रिकेट,फुटबल,बिच भलिबल,ट्राइयाथोलन, ब्याडमिन्टन,भारत्तोलन,आर्चरी र ह्याण्डबलमा भाग लिन ६५० खेलाडी तथा १९० अफिसियल आउने भएको प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडीमध्ये ३९६ महिला तथा २५४ पुरुष छन् ।     
     
त्यस्तै सागका खेल सञ्चालका लागि विभिन्न देशका ४९१ टेक्निकल डेलिगेट,टुर्नामेन्ट डाइरेक्टर,रेफ्री,जज, राष्ट्रिय रेफ्री तथा टेक्निकल एसिस्टेन्टको सहभागिता रहने छ । भारतबाट पाँच खेलको लागि १८० खेलाडी तथा अफिसियलको सहभागिता रहने छ,जसमा ४९ पुरुष,६९ महिला तथा २५ अफिसियल रहेका छन् । माल्दिभ्सबाट पाँच खेलमा १३६ खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ जसमा पुरुष ४१,महिला ६१ र ३४ अफिसियल छन् ।

बङ्गलादेशबाट छ खेलको लागि पुरुष ५९,महिला ५५ र ३६ अफिसियल रहेका आउँदैछन् । पाकिस्तानबाट पाँच खेलमा ९४ खेलाडी तथा अफिसियलको सहभागिता हुनेछ, जसमा पुरुष ३८,महिला ३५ र अफिसियल २१ छन् । श्रीलङ्काबाट आठ खेलमा १७५ खेलाडी तथा अफिसियल आउँदैछन् । पुरुष खेलाडी ६१,महिला ८१ र अफिसियल ३३ को सहभागिता रहनेछ ।

भूटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ को सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला छ तथा अफिसियल सात जना रहेका छन् । सागका लागि पोखरा आउने पर्यटकले यहाँका प्राकृतिक सुन्दरताको मोहकता विश्वमाझ पु¥याउने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेलले बताए ।

यो पोखराको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसर हो,उनले भन्ने,खेल पर्यटनका माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा धेरै देशले फड्को मारी सकेका छन्, न्यानो आतिथ्यता दिएर यस अवसरलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया