बीमा र बिशेष कम्पनीले म्युचल फण्ड निष्काशन गर्न पाउने व्यवस्था गरिँदै

६ बर्ष अगाडि

काठमाडौं – बिशेष ऐनद्धारा स्थापित कम्पनीले सामूहिक लगानी कोष (म्युचल फण्ड) सञ्चालन (निष्काशन) गर्न पाउने भएका छन् । हाल बाणिज्य बैंकले मात्र म्युचल फण्ड निष्काशन गर्दै आएका छन् । यसैबीचमा नेपाल धितोपत्र बोर्डले बिशेष कम्पनीले पनि म्यचुल फण्ड निष्काशन गर्न पाउने प्रक्रिया अगाडि बढाएको छ । साथै, बीमा कम्पनीले पनि म्युचल फण्डले निष्काशन गर्न सक्ने व्यवस्था पनि गरिने बोर्डको भनाइ छ । 
यदि, उक्त प्रक्रिया पुरा भएर आवश्यक नीति बनेपछि त्यस्ता कम्पनीहरुले म्युचल फण्ड निष्काशन गर्न सक्नेछन् । बोर्डले धितोपत्र बजार सुधार तथा विकासका लागि गरेका पहलबारे जानकारी दिँदै यस बारेपनि जानकारी दिएको हो । 
नेपालमा म्यचुल फण्डको लामो इतिहास छैन, वोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ जारी गरेपछि नेपालमा यसको सुरुवात भएको हो । त्यसपछि क बर्गका बैंकले मात्र यो सञ्चालन गर्दै आएका छन् ।
धितोपत्र बजारका साना लगानीकर्ताका लागि यो अति उपयुक्त हुन्छ  । जो धेरै मुल्यको शेयरमा लगानी गर्न सक्दैनन्, त्यस्ताका लागि धितोपत्र बजारमा प्रवेश गर्न यो राम्रो माध्यम हो । 
बैंकहरूले म्युचल फण्ड मार्फत बैंकहरूले पैसा जम्मा गरेर शेयर बजारमा लगानी गर्न सक्छन् । 
 

बोर्डले बजार सुधार तथा विकासका लागि गरेका पहल यस्ता छन्ः

  1. धितोपत्रको दोस्रो बजारमा माग पक्षलाई सम्बोधन गर्ने उद्धेश्यले धितोपत्र बजारमा स्टक डिलरको प्रवेश गराउन बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन पारित गरी स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरिएको, 
  2. धितोपत्रको माग बढाउने उद्देश्यले धितोपत्र खरीदमा मार्जिन कारोबारको व्यवस्था गरिएको छ । लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन हाल १६ वटा धितोपत्र दलाल व्यवसायीहरूलाई अनुमति प्रदान गरिएकोमा केही धितोपत्र व्यवसायीहरुले लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराइसकेका छन् ।
  3. धितोपत्रको दोश्रो बजारको पहुँच अभिवृद्धिका लागि देशका प्रमुख आर्थिक केन्द्रहरूमा धितोपत्र दलाली सेवा विस्तार गर्दै लगिएको छ र आगामी दिनमा यसलाई थप क्षेत्रमा विस्तार गरिनेछ ।
  4. हकप्रद शेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन सक्ने व्यवस्था छ, आगामी दिनमा लगानीकर्ताले आफ्नो हक भन्दा शत प्रतिशतसम्म आवेदन दिन सक्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ कोसंशोधन प्रकृया अगाडी बढाइएको छ ।
  5. नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति अन्तर्गत रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुर्नसंरचना गर्ने रणनीति अनुरूप हाल नेप्सेमा रहेको नेपाल राष्ट्र बैंकको शेयर विनिवेश गर्ने कार्य अगाडि बढिरहेको छ । यसबाट नेप्से थप व्यवसायिक एवं प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
  6. धितोपत्र बजारमा लगानीकर्ताहरुको सहभागिता बढाउँदै लैजान देशका विभिन्न स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम तथा रेडियोमार्फत् पूँजी बजारसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ ।
  7. भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई धितोपत्र बजारमा प्रवेश गराउने उद्देश्य अनुरूप विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरिएको छ । उक्त नियमावली अन्तर्गत हाल ५ वटा कोषहरूले अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेकोमा सो को अध्ययन भैरहेको छ ।
  8. धितोपत्रको दोस्रो बजारलाई स्वच्छ एवं पारदर्शी बनाउनका लागि बजारमा हुन सक्ने भित्री कारोबारलाई निरूत्साहित गर्न भित्री कारोबार निषेधसम्बन्धी नियमावली, २०७६ बोर्डबाट पारित गरी उक्त नियमावली स्वीकृतिको चरणमा रहेको छ ।
६ बर्ष अगाडि

प्रतिक्रिया