विभिन्न ७ शिर्षकअन्तर्गत सहुलियतपुर्ण कर्जा दिदै आएकोमा सरकारले नयाँ क्षेत्र थप गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषदको कात्तिक २९ गतेको निर्णय अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि संसोधन गरी नयाँ क्षेत्र थप गरिएको हो ।
अब सरकारले कपडा उद्योग, सार्वजनिक यातायात र प्राविधिक अध्ययनका लागि पनि सहुलियतपूर्ण कर्जा दिने जनाइएको छ।
प्राविधिक शिक्षाका लागि २ लाखसम्म व्यक्तिगत जमानीमा र कपडा उद्योगका लागि ५ करोडसम्म धितोमा कर्जा दिने व्यवस्था थप गरेको छ ।
यसैगरी सवारी साधन किन्नको लागि भने शिक्षित युवा स्वरोजगार कर्जाको यसअघि रहेको जस्तै ७ लाखसम्म कर्जा पाइनेछ जसमा किनिएको गाडि नै धितोमा रहनेछ ।
ब्याज अनुदान लिन चाहने कपडा उद्योगले आफ्नो पछिल्लो ऋणको सम्पूर्ण विवरण सम्बन्धित बैंकबाट प्रमाणित गराइ पेश गुर्नपर्नेछ ।
कपडा उद्योगले यसअघि लिएको ऋणको हकमा २०७५ साउन १ गते कायम रहेको र सो मिति पश्चात लिएको ऋण रकममा २०७५ कात्तिक २४ गतेदेखि ५ प्रतिशतको विन्दुले ब्याज अनुदान प्रदान गरिनेछ ।
नयाँ ऋणको हकमा उद्योगको आवश्यकता हेरी बढीमा ५ करोडसम्मको ऋणमा मात्र यस्तो अनुदान उपलब्ध गराइनेछ ।
तर सो ऋण उद्योग सञ्चालनको कार्यमै प्रयोग गर्नुपर्नेछ । यदि यसरी उपयोग भएको नपाइएमा सावाँ सहित १५ प्रतिशतकादरले ब्याज रकम असुल हुने कार्यविधिमा उल्लेख छ ।
यता प्राविधिक शिक्षाका लागि प्राविधिक शिक्षा तथा मान्यता प्राप्त संस्थामा भर्ना भएको कागजात हुनुपर्नेछ । तालिम लिन चाहेको विषय सहितको कागजात वा निवेदन पेश गर्नुपर्नेछ ।
सरकारले संशोधन गरेको कार्यविधि अनुसार अब लिइएको सबै ऋण ५ वर्षभित्र तिर्न समेत नपर्ने भएको छ ।
त्यस्तो अवधि बैंक र ऋणीको सहमतिमा निर्धारण हुन सक्ने छ । यद्यपि, त्यस्तो ऋणमा ५ वर्षपछि ब्याज अनुदान पाइने छैन ।
अहिलेको संशोधनले त्यस्तो ऋणको बीमा प्रिमियम, कर्जा सुरक्षण र कर्जा सूचना शुल्कको भार भने ऋणीमै थोपरिदिएको छ । यसअघि यसबारे स्पष्ट ब्याख्या थिएन ।
प्रतिक्रिया