गैँडाकोटमा सुविधासम्पन्न वृद्धाश्रम निर्माण सहयोगार्थ आयोजित श्रीमद्भागवत धनधाञ्याचल ज्ञान महायज्ञमा रु ८० लाख सङ्कलन भएको छ । यहाँको लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूहले महायज्ञको आयोजना गरेका थिए ।
गैँडाकोट नगरपालिका–८ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा वृद्धाश्रम निर्माणसहित वैदिक हिन्दू धर्मको संरक्षण, मन्दिर परिसरको जग्गा विस्तार, सत्सङ्ग भवन निर्माण, मन्दिर निर्माण र स्थानीय जातको गाई संरक्षणका लागि भन्दै यही मङ्सिर १ गतेदेखि महायज्ञको आयोजना गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजक घनश्याम कँडेलले वैदिक धर्मसंस्कृतिमाथि प्रहार हुने क्रम बढेकाले समाजमा धार्मिक जागरण ल्याउनसमेत महायज्ञ गरिएको बताए।
मङ्सिर ८ गते सकिएको महायज्ञमा गैँडाकोट–८ का विष्णुप्रसाद अधिकारीले सबैभन्दा बढी रु तीन लाख ११ हजार १११ दान गर्नुभएको कँडेलले बताए। महायज्ञमा पण्डित दीपक सापकोटाले कथा वाचन गरेका थिए ।
प्रतिक्रिया