काठमाडौँको उत्तरी भेग मूलपानीमा महिला हिंसामा परेकालाई संरक्षण गर्ने उद्देश्यले करिब डेढ रोपनीको क्षेत्रफलमा सात करोडमा आश्रयस्थल निर्माण गरिएको छ । लैङ्गिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानूनी परामर्श उपलब्ध गराउने लक्ष्य राखिएको उक्त स्थलमा तीनवटा भवन निर्माण गरिएको छ ।
एपेरियन नामक गैरसरकारी संस्थाले आजदेखि सञ्चालनमा ल्याएको उक्त भवन डेढ वर्षमा निर्माण गरिएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको त्यस स्थलमा व्यावसायिक तालीम, स्वास्थ्य परीक्षण,परामर्श,आवास गरी ३० कक्ष छन् ।
जम्म २० महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमताको आश्रयस्थलमा स्थानीय तह, महिला हिंसाविरुद्ध क्रियाशील संस्था तथा प्रहरीको सिफारिसमा पीडित महिलालाई आश्रय दिइने व्यवस्था गरिएको छ । पीडित पक्षलाई सम्बन्धित घरपरिवारमा मेलमिलाप,व्यावसायिक तालीम र रोजगारीको प्रबन्ध गरी उनीहरुलाई आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने उद्देश्य राखिएको छ ।
हिंसामा परेका महिलालाई सामाजिक रुपान्तरण गर्न हाउस किपिङ,खाना पकाउने,ब्युटिसियन,सुरक्षा गार्ड,बालबालिका हेरचाह र मन्टेश्वरी तालीम सञ्चालन गरिने जनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले भवनको उद्घाटन गर्दै महिला वर्गमाथि आर्थिक पहुँच नभएका कारणले अधिकांश महिला घरेलु हिंसाको सिकार हुने गरेकाले सामाजिक रुपान्तरणको महत्व रहेको बताए।
एपेरियनका प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले उक्त आश्रयस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रका पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको बताए उनले अछाम,बझाङ,बाजुरा,बैतडी ,ओखलढङ, सिन्धुली र उदयपुरमा पनि यस किसिमको स्थल सञ्चालन गरिएको जानकारी दिए ।
प्रतिक्रिया