उद्योग तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले औद्योगिक क्षेत्रको सुधार र प्रवर्द्धनमा आफू डटेर लाग्ने बताएका छन् ।
राजधानीमा आयोजित पाँचौं उद्योग दिवस कार्यक्रममा बोल्दै राज्यमन्त्री दुगडले यस्तो बताएका हुन् ।
हालैमात्र राज्यमन्त्रीमा नियुक्त भएका दुगडले आफू औद्योगिक क्षेत्रबाटै आएकाले व्यवसायीहरुको पिरमर्का राम्रोसँग बुझेको र देशको आवश्यकतालाई समेत नजिकबाट नियालेकाले काम गर्न गाह्रो नभएको बताए ।
‘ठूला, साना तथा मझौला सबै खाले उद्योगको स्वामित्व मन्त्रालयले लिन्छ । व्यवसाय खोल्न स्वीकृति दिएको मन्त्रालयले ती उद्योग तथा व्यवसायको संरक्षणको जिम्मा पनि लिन्छ ।’ राज्यमन्त्री दुगडले भने, ‘हामी शो पिस मात्र बन्दैनौं । काम गरेर देखाउछौं ।’
राज्यमन्त्री दुगढले सरकार सफल भएमात्र व्यवसायीहरु सफल हुने बताउँदै सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
आजको दिनमा आर्थिक सम्मृद्धि र औद्योगिक रुपान्तरणका लागि औद्योगिक क्रान्ति आवश्यक भएको भन्दै उनले निजी क्षेत्रहरुसँग मिलेर जान तयार भएको बताए ।
‘अब हामी व्यवहारः देखिने गरि काम गर्दैछौँ । यस अघि काम नभएका र खाली नाम मात्रका उद्योगहरुलाई व्यवस्थित गरेर अघि बढ्दैछौँ’ दुगडले भने, ‘काम नगर्ने र खाली ओगटेर बस्नेहरुलाई कारबाहीमा ल्याउदैछौँ । अब काम गर्न सक्नेलाई प्रोत्साहन गरिन्छ र गर्न नसक्नेलाई छुटाएर भएपनि सक्ने सक्षमलाई हस्तान्तरण गरिन्छ । तर उपलब्धी दिएरै छाड्छौँ ।’
यसै अवसरमा राज्यमन्त्री दुगडले सकारात्मक परिवर्तनका लागि मिडियाले पनि सकारात्मक रोल खेलिदिन आग्रह गरे । गलत भए गलत र सहिभए सही तरिकाले कलम चलाइदिन उनको आग्रह रहेको थियो ।
प्रतिक्रिया